रोटरी ई क्लबकाे अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


काठमाडौं । रोटरी ई क्लब ३२९२ द्वारा कोलावोरेटिभ स्कुल नेटवर्कको संयोजनमा ललितपुरको भोल ढोका-९ स्थित ललित कल्याण केन्द्र आधारभूत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भएको उक्त कार्यक्रममा अभिभावक शिक्षा प्रशिक्षक प्रतिमा लामाले श्रोत व्यक्तिको रुपमा बालबालिकाहरुलाई हुर्काउने क्रममा अभिभावकहरुको महत्वपुर्ण भूमिकालाई प्रकाश पार्दै सहभागी अभिभावकहरुको बालबालिका हुर्काउने क्रममा हुने समस्याहरु अनि तिनका समाधानका बिषयमा चर्चा गरिन् ।
कार्यक्रममा उक्त विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्ममा अध्ययनरत विद्यार्थीका करिब ३० जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्रोत व्यक्ति प्रतिमा लामाले अभिभावकहरुले बालबालिकाको हुर्काउने क्रममा सर्वाङ्गीण विकासलाई ध्यान दिनुपर्ने बताइन् । बालबालिकाहरुको शारिरिक विकासको साथमा मानसिक, भावानात्मक, सामाजिक अनि भाषिक विकासलाई पनि उत्तिकै जोड दिनुपर्ने कुरामा उनले प्रकाश पारिन् ।
लामाले आमाबुबाहरुले आफुले पनि मोबाइल हेर्ने बानी कम गरेर बालबालिकाहरुको अगाडि उदाहरण बन्नुपर्ने, उनीहरुलाई मोबाइलको विकल्पको रुपमा अन्य कार्यहरुमा संलग्न गराउने, उनीहरुले जति जिद्दी गरे पनि धेरै मोबाइल चलाउन दिनु नहुने जस्ता उपायहरु बारेमा चर्चा गरिन् । बालबालिकाहरुले झुटो बोल्ने बानीलाई कसरी सुधार्ने उपायहरुको बारेमा पनि स्रोत व्यक्ति लामाले उपायहरु उपस्थित सहभागीहरुलाई बताएका थिए ।
त्यसैगरी, बालबालिकाहरुलाई गृहकार्य गराउने क्रममा आउने चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि कार्यक्रममा छलफल भएका थियो । त्यस्तै, अभिभावकहरुले पाठ्यक्रमको पढाइलाई मात्र केन्द्रित नगरी अन्य सिकाइलाई पनि जोड दिनुपर्ने लामाले बताएका थिए ।
निःस्वार्थ सेवा गर्ने पहिचान बोकेको रोटरीको उद्देश्य प्राप्तिका निम्ती रोटरी ई क्लब ३२९२ ले विभिन्न सामाजिक कार्यहरु गरिरहेको र वर्तमान समयमा विभिन्न कारणहरुले बालबालिकाहरु हुर्काउन अभिभावकहरुलाई चुनौती रहेको तथा बालबालिकाहरु समाज र देशको भविष्य भएको हुनाले आगामी दिनहरुमा पनि अभिभावक शिक्षाको प्रचारप्रसारलाई निरन्त रता दिइरहने उक्त क्लबका प्रेसिडेन्ट रविनमान बज्राचार्यले बताए ।