चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग, आजबाट आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी


काठमाडौं । यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ ।
बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको सङ्घको भनाइ छ । दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनीसमेत सङ्घले दिएको छ ।
आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ ।
देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ । अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्न पनि सङ्घको माग छ ।