सुदूरपश्चिमका मुख्यमन्त्रीको टोलीले प्रधानमन्त्री भेट्न पाएन – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीको टोलीले प्रधानमन्त्री भेट्न पाएन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सिंगो मन्त्रीमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट पाएन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सुदूरपश्चिमसँग जोडिएका २ मुद्दालाई एजेण्ड बनाउनुपर्ने मागसहित मुख्यमन्त्री कमल बहादुर शाहसहित सबै मन्त्री काठमाडौ गएका थिए ।

बिहीबार साँझ ५ बजे प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको कार्यव्यस्तताले भेट हुन नसकेको एक मन्त्रीले बताए ।

मुख्यमन्त्री शाह सहित आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी,आर्थिक मामिला मन्त्री नरेश शाही काठमाडौँ पुगेका थिए ।

मुख्यमन्त्रीसहित केही मन्त्री बुधबार काठमाडौँ पुगेका हुन् भने केही मन्त्री गएका थिए । कृषि मन्त्री चौधरी भने आज काठमाडौँ पुगेका हुन् ।

चीन भ्रमणका क्रममा बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका बिषय एजेन्डा बनाउन उनीहरु काठमाडौ पुगेका हुन् ।

प्रधानमन्त्रीले समय दिन नसकेपछि आज हुन नसकेको भेट भोलि बिहान ७ बजेको लागी सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर