राष्ट्रपति पौडेल र मानव अधिकार आयोगका पदाधिकारीबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीको टोलीले बुधबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग् भेटघाट गरी मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल गरेको हो ।
राष्ट्रपतिसँगको छलफलमा आयोगका अध्यक्ष मगरले आयोगले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने भनाई राखेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भेटघाटमा आयोगका सदस्य डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कायममुकायम. सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा.टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलकोसमेत उपस्थिति थियो ।