मनोरञ्जनात्मक भिडिओमा अनुमतिबिना प्रहरी पोशाक प्रयोग गरे कारबाही हुने


काठमाडौं । प्रहरी प्रधान कार्यालयले मनोरञ्जनात्मक भिडियोमा प्रहरीको पोशाकको प्रयोग गर्दा अनिवार्य अनुमति लिन आग्रह गरेको छ । कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिना अनुमति प्रहरी पोशाक प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
विगत केही समय यता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडिओ एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरेको देखिनुका साथै सांगठनिक मर्यादा विपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुवेर कडायतले बताए ।
‘केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवम् अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकोले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोशाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्टसमेत खुलाई पूर्व स्वीकृति लिन आग्रह गरेको छ ।
यस्तै श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दा उनको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।