उपचार नगरी फर्काएका कारण तामाङको मृत्यु भएको भन्दै मेडिकल सञ्चालकविरुद्ध लेटाङमा प्रदर्शन


विराटनगर । मोरङको लेटाङस्थित एक मेडिकलले उपचार नगरी फर्काएका कारणमहिलाको मृत्यु भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले लेटाङ बजारमा प्रदर्शन गरेका छन् ।
स्थानीय विनीता तामाङको उपचार नगरी मेडिकलले फर्काइदिएको भन्दै आफन्त र स्थानीयले लेटाङ बजारमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले मेडिकल अगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि प्रदर्शन गरिरहेका छन् ।
लेटाङ नगरपालिका–४ की अन्दाजी ३० वर्षीय तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रवार लेटाङ–४ कै जनप्रिय मेडिकलमा लगेका थिए ।
उनीहरूले मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । मेडिकल तोडफोडको प्रयाससमेत भएको प्रहरीले जनाएको छ । समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै आफन्त एवं परिवारका सदस्य मेडिकलप्रति आक्रोशित बनेका हुन् ।
करिब २ सयको सङ्ख्यामा भेला भएको भीडले मेडिकल विरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ। सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्याएका थिए ।
बिरामीको स्वास्थ्य खराब रहेको भन्दै मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिएको थियो । तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो । उपचारकै क्रममा मङ्गलवार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विराटनगरबाट समेत थप मद्दतका लागि प्रहरी पठाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।