सुवास नेम्वाङको त्यो अन्तिम भाषण- मलाई धेरै हतारो छ… (भिडिओ)


विराटनगर । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भदौ २३ गते धरानमा गरेको भाषण नै उनको जीवनको अन्तिम भाषण बन्यो । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङले युवाहरूलाई सम्बोधन गरेका थिए ।
उनी धरानबाट फर्किएपछि बिरामी भएका थिए । ज्वरो आएर बिरामी भएका नेम्वाङको आज बिहान हृदयघातबाट निधन भएको छ । उनले धरानमा मन्तव्य दिइरहँदा कोशी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रमस्थल बाहिर प्रदर्शनसमेत गरेका थिए ।
कोशी नामकरणको विरुद्धमा आन्दोलन गरिरहेका पहिचानवादीहरू प्रति लक्षित गर्दे नेम्वाङले ढुंगामुढा गरेरमात्रै पहिचान प्राप्त नहुने बताएका थिए । उनले भनेका थिए हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो ?’
अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको बताएका थिए । उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको स्मरण गरे ।
नेम्वाङले भनेका थिए,‘महागुरू फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ?’

नेम्वाङले पहिचानको ढुंगा खतरनाक भएको बताए । उनले भनेका थिए, ‘पहिचानका लागि हानिएको ढुंगा ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो ?’ उनले ढुंगा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नहुने बताए ।
कोशी सरकार गठनको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘सभामुख संसदको रेफ्री भएको भन्दै फुटबलको रेफ्रीले गोल गरे के हुन्छ ? तर, साथीहरुले रेफ्रीलाई गोल हान्न लगाए । रेफ्रीलाई गोल गर्नु हुँदैन भन्यौ तर दोस्रो पटक पनि सभाअध्यक्ष गरेका व्यक्तिलाई मत हाल्न लाउनु भयो । तर, उहाँहरुले मान्नु भएन युवाहरू सम्झनुस् यो देश कसरी चलिरहेको छ । साथीहरूले कसरी चलाइरहनु भएको छ ।’
उनले लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुने बताएका थिए । उनले धरानमा भनेका थिए, ‘तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, संस्कृतिका जनता एक ठाउँमा उभिएकै कारण नेपाल सधैँ स्वतन्त्र मुलुक भनेर चिनिँदै आएको छ ।’
‘हामी सबैले भन्छौं, यो देश हेर्नोस् त, हाम्रो छिमेकी भारत दास बन्यो । तर, नेपाल हामी कहिल्यै पनि दासतामा परेनौं । स्वतन्त्र रह्यौं । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौं । जनताले जनताका लागि । राष्ट्रिय झण्डा पास गर्यौं । कुनै बेलामा यसका बारेमा तपाईहरूसँग बसेर छुट्टै छलफल गरौंला’, उनको भनाइ थियो ।
उनले युवा संघले आयोजना गरेको कार्यक्रम भव्य भएको बताएका थिए । काठमाडौं आजै (भदौ २३ गते) पुग्नु परेकाले सबै कार्यक्रम हेर्न नपाएको बताए । उनले आफूलाई हतार भएको बताएका थिए ।
‘संसद कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद चलाउनका लागि काठमाडौं पुग्नुपर्छ । हामी जिम्मेवार प्रतिपक्षी भइनौं भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ’, नेम्वाङले बोलेका थिए ।
उनले संसदीय समितिहरू बनेको प्रसंग निकाल्दै संसद कसरी चलिरहेको छ भन्नेबारेमा सवै स्पष्ट भएको बताएका थिए । संसद चलेपछि कतिवटा विधेयक पास गर्यो ? संसदमा बिधेयक कसले ल्याँउछ ? सरकारले होइन ? सरकारले कतिवटा विधेयक दियो ? उनले भनेका थिए, सरकारले विजनेस नदिएपछि कसरी संसद चल्छ ?

कार्यक्रममा नेम्वाङले इलाम क्याम्पसमा स्ववियू सभापति भएको प्रसंगदेखि त्रिचन्द्र कलेजमा आइएस्सी पास गरेको स्मरण गरेका थिए । उनले आफू अखिलको नेतृत्वमा हुँदा झापा सुनसरी धनकुटा हुँदै इलाम पुगेको सम्झदै झापामा भएको हत्या काण्डको प्रसंग पनि सुनाएका थिए । उनले भनेका थिए प्रहरीले झापा हत्याकाण्ड भएको सुखानीमा अफूहरूलाई पक्राउ गरेर प्रहरीले २ घण्टा रोकेको सम्झना सुनाए ।
धरानप्रति ठूलो विश्वास रहेको बताए । यो बीचमा अगाडि बढ्यौं कि पछाडि गयौ भन्ने कुरा छलफल गर्नुपर्ने सुनाए । धरान भन्नेवित्तिकै एक प्रकारको जोश आउने गरेको सम्झना पनि सुनाए । नेम्वाङले तराई मधेशदेखि हिमालसम्मका विविध जाति, विविध भाषा, धर्म र संस्कृति भएकाहरूलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन उनको आग्रह थियो ।
धरानमा नेम्वाङको थप भनाइको सारसंक्षेप
चन्द्रमा र सूर्य अंकित झण्डा । त्यतिबेला छलफल चलेको मलाई सम्झना छ, यो तीनकुने झण्डा भएन यसलाई फेर्नुपर्छ । यो चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको यसमा त पसिना गन्हाउँछ ! संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने । धुमधाम छलफल चलेको थियो, कसले उठायो, उठायो । तर, धुमधाम छलफल भइसके पछाडि मैले नै प्रस्ताव राखें- जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ- तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैन । यो भनेर यसलाई पास गरौं न । राष्ट्रिय झण्डा पास भयो । अहिले हामी राष्ट्रिय झण्डा बोकेर हिँडिरहेका छौं ।
नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसका बारेमा तपाईहरुसँग बसेर सल्लाह गरौंला । छलफल गरौंला । मैले यति भनेर राख्न खोजेको कुरा के हो त भन्दा हाम्रा छिमेकका त्यति ठूलो देश दास तर नेपाल कहिल्यै, कसैको दास बनेन । सदा सर्वदा स्वतन्त्र रह्यो । यसको एउटै कारण हो, तराई मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, कर्म संस्कृतिका जनता एक ठाउँमा, एकजुट भएर उभिएका छन् । त्यसैले नेपालले कसैको पनि दास बन्नुपरेन ।