पाँच महिनापछि मधेशले पायो प्रमुख सचिव


काठमाडौं । मधेश प्रदेश सरकारले पाँच महिनापछि प्रमुख सचिव पाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट बढुवा भएका दिनेशकुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।
गत चैतको दोस्रो साता मधेश प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका कृष्णबहादुर राउतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । प्रमुख सचिव पद रिक्त भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यरत कानून सेवातर्फका सहसचिव किशोरकुमार चौधरीले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
मधेशले प्रमुख सचिव पाए पनि लुम्बिनी र कर्णाली प्रदेश सरकार अझै प्रमुख सचिवविहीन छन् । लुम्बिनीका प्रमुख सचिव डा.दीपक काफ्ले गत चैत दोस्रो सातामा कोशीको प्रमुख सचिवमा सरुवा भएका थिए ।
यस्तै कर्णालीका प्रमुख सचिव डा.गोपीकृष्ण खनाल साउन १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । कर्णालीको प्रमुख सचिवको जिम्मेवारीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका खनाल उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सहसचिव दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।