अमेरिका र चीन भ्रमणअघि टीआरसी विधेयक टुंग्याउने प्रचण्डको प्रयास, एमालेको एक बुँदे असहमति – Nepal Press

अमेरिका र चीन भ्रमणअघि टीआरसी विधेयक टुंग्याउने प्रचण्डको प्रयास, एमालेको एक बुँदे असहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक पारित गराउन गृहकार्य अघि बढाएका छन् । अमेरिका र चीन भ्रमणमा जानुअघिमा जानुअघि संसदबाट पारित गरेर यसलाई टुंग्याउन उनले पहल थालेका हुन् ।

शान्तिप्रक्रिया टुंग्याउन अन्तराष्ट्रिय समुदायबाट पनि दबाब बढिरहेका बेला सरकारले संसदमा विधेयक अघि बढाउने तयारी गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यथास्थितिमा सहमत छैन । यो विधेयक फागुन २५ गते संसदमा दर्ता गरिएको थियो । तर, एमालेको विरोधपछि जेठ ५ मा कानून न्याय तथा मानवअधिकार समितिले विधेयकमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति बन्यो ।

उपसमितिलाई सुरुआतमा काम गर्न २१ दिनको समय दिएको भएपनि अहिलेसम्म तीन पटक म्याद थप गर्दा समेत समितिले काम टुंग्याउन सकेको छैन । उपसमितिले आफ्नो काम केही दिनमै टुंग्याएर कानून समितिमा पेश गर्ने कांग्रेसकी सचेतक सुशिला थिङले बताइन्

उनले नेपाल प्रेससँग भनिन्, ‘अब केही दिनमा बस्ने बैठकले कसरी टुंग्याउने भन्नेबारे निष्कर्षमा पुर्‍याउँछ । हामी उपसमितिमा बसेर पाएको जिम्मेवारीअनुसारको ड्राफ्ट गर्ने गरेर सहमतिमा बुझाउने भन्ने तयारी गरिरहेका छौं ।’

तेस्रो पटक थपिएको म्यादभित्रै आफूहरूले समितिलाई टिआरसी विधेयकबारेको ड्राफ्ट बुझाउने उनको भनाइ छ ।

‘हामीले ड्राफ्ट बुझाइसकेपछि कसले सहमति गर्ला न नगर्ला पछाडिको कुरा हो । प्रतिपक्षसँग सहमति भए नभएको समितिलाई जानकारी छैन’, सचेतक थिङले भनिन् ।

कानून समितिमा विचाराधीन विधेयकमा सहमति जुटाउन उपसमितिले मात्रै होइन प्रधानमन्त्री प्रचण्डले पनि संसदबाट पारित गराउन शीर्ष तहमा सहमतिको प्रयास जारी राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार एमाले अध्यक्ष ओलीलाई सिंहदबारमा टीआरसी विधेयक अघि बढाउन सहयोग मागेका थिए । लगत्तै बुधबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीसँग सहमतिको मिलबिन्दु खोजेका थिए । ओलीले शान्ति प्रक्रियालाई टुंग्याउन सकारात्मक रहेको बताउँदै पार्टीभित्र छलफल गरेर जवाफ दिने भन्दै फर्किएका थिए । यद्यपि, अहिलेसम्म ओलीको कुनै संकेत बालुवाटारले पाएको छैन ।

एमालेले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा सुधार गरेरमात्रै विधेयक अगाडि बढाउन सकिने अडान राखेको छ । टीआरसी विधेयक टुंग्याउनेबारे समितिको बैठकहरूमा छलफल भइरहेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । सत्तापक्षसँग एउटा बिषयमा मत विभाजन देखिएको उनले सुनाए ।

उनले भने, ‘गम्भीर मानवअधिकार उल्लंघन र मानव अधिकार उल्लंघन भनेर दुई वर्षमा विभाजन गरिएको छ हत्या, हिंसालाई । त्यो हत्या भएका विषयलाई गम्भीर मानवअधिकार उल्लंघन नभनी मानव अधिकार उल्लंघनमा मात्रै भनेर पीडकलाई उन्मुक्ति दिने र पीडितले न्याय नपाउने गरी हामीले टुंग्यायौं भनेपनि शान्तिप्रक्रिया टुंगिएको हुँदैन ।’

पीडितलाई न्याय नदिई शान्तिप्रक्रिया टुंग्याउनुको कुनै अर्थ नहुने भएकाले अहिले छलफल यथावत् रहेको बताए । सत्तापक्षले चाहे प्रधानमन्त्रीको भ्रमणअघि सहमति जुट्ने उनको भनाइ छ ।

उनले थपे, ‘पीडकलाई उन्मुक्ति दिने, पीडितलाई न्याय नदिने कुरा हामीलाई स्वीकार्य हुँदैन । पीडितलाई न्याय दिएर पीडकलाई उचित दण्ड परिस्थिति बनाएर टुंगोमा पुर्‍याउनुपर्छ भनेर हामीले भनिरहेका छौं। त्यसमा सत्तापक्षले चाहे सहमति बन्छ ।’

टीआरसीमा प्रधानमन्त्रीले सबै दलहरूबीच सहमतिको प्रयास गरिरहेको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले छलफल गरिराख्नुभएको छ । शान्ति प्रक्रिया टुंगो लगाउने विषयमा सबै दलहरूबीच सहमति भएर नै अगाडि बढ्नुपर्छ भनेर उहाँले पहल गरिराख्नुभएको छ ।’

टीआरसी विधेयक संसदबाट पारित हुनु ठूलो कुरा नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बताउँछन् । यो विषयमा अन्तर्राष्ट्रिय समुदायको पनि चासो भएकाले पीडित र सर्वोच्च अदालतको आदेशलाई पनि ख्याल गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले बिहीबार भनेका थिए, ‘अहिले सरकारसँग बहुमत छ यहाँबाट पास होला तर, सुप्रिम कोटले गाइडलाइन्स दिइसकेको छ । इन्टरनेसनल कम्युनिटीको पनि चासो भएकाले पीडितको न्यायलाई पनि बुझ्नसक्नुपर्छ ।’

प्रधानमन्त्री न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन जाँदै गरेकाले पनि टुंग्याउन पहल गरेको हुनसक्ने उनको बुझाइ थियो ।
त्यसो त नेपालको शान्तिप्रक्रिया टुंग्याउने विषयमा अमेरिकाले पनि पछिल्लो समय चासो बढाउँदै आइरहेको छ ।

गत साता नेपाल भ्रमणमा आएका अमेरिकी सिनेटर क्रिस भान होलेनले पनि प्रधानमन्त्री प्रचण्ड, ओलीलगायतसँगको भेटमा टीआरसी विधेयकबारे चासो राखेर थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर