सरकार कतिञ्जेल टिक्छ मतलब छैन : प्रधानमन्त्री
‘प्रदेशमा देखिएको नामको विवाद कन्फ्रन्टेनशबाट नभई संवादबाट समाधान हुन्छ’


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताए ।
विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभामा बोल्दै उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताए । उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा लागे पनि केही तत्व सरकारको विरुद्ध लागेकाले सरकार कतिञ्जेल टिक्छ भनेर प्रश्न उब्जिएको बताए ।
उनले भने, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु ।’ उनले आफुले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए । उनले सामाजिक न्ययको लाीग देश बाहिर रहेका युवाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्व हुने निर्णय गरेको बताए ।
उनले भने, ‘अहिले ३ लाख विदेशमा रहेका युवाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । अब ३ वर्षमा २५ लाख विदेशमा रहेका युवाहरु कोषमा आवद्व हुने छन् यो समाजवादको भ्रुण रोपिएको हो ।’
मिटर ब्याजको समस्या समाधान गर्न आफुले मिटरब्याजी सम्बन्धी कानून ल्याएको बताउँदै उनले आफुले नै लामो समयदेखि रहेकोब नागरिकताको समस्या समाधानको प्रयास गरेको बताए । उनले सरकार विगतको जस्तो निरन्तर मात्रै नभएको बताए । उनले विगतको सरकारले भन्दा विलकुलै फरक र नयाँ काम गरेको बताए ।
‘प्रदेशमा देखिएको नामको विवाद कन्फ्रन्टेनशबाट नभई संवादबाट समाधान हुन्छ’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले प्रदेशको नामको विषयमा उत्पन्न विवादको संवादबाट समाधान खोज्नु पर्ने बताए । कोशी प्रदेश सभाबाट दुई तिहाइ भन्दा बढी मतबाट कोशी नाम राखिएको विषयमा कोशी प्रदेशको नामबारे असन्तुष्टि फैलिएकाले संवादबाटै समाधान खोज्नुपर्ने बताए । विराटनगरमा भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले कन्फ्रन्टेसनबाट होइन वार्ताबाट समाधान निकाल्नु पर्ने बताए ।
उनले भने, ‘लाखौँ जनता प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट भएका छन् । उनीहरूको माग कन्प्रन्टेशनबाट होइन संवाद र वार्ताबाट पुरा गर्नु पर्छ । प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भए लगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’
उनले संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने बताए । अहिले परिवर्तन उल्टाउन चाहानेहरु एक भएर लागेको र परिवर्तनकारीहरूलाई आक्रमण गरिरहेको बताए । परिवर्तनकारीहरू छाती खोलेर हिँड्न डराउनु पर्ने अनि परिवर्तन विरोधीहरू खुल्लम खुल्ला हिँड्नु परेको प्रधानमन्त्रीले बताए । उनले प्रश्न गरे, ‘जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक भएर अलिकति डराए जस्तो देखिनु पर्ने ?’
उनले परिवर्तन विरोधीहरुको मनोबल कस्तो उच्च भएको भन्दै अव समाजवादी मोर्चाले सहेर नबस्ने बताए । उनले भने जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । उनले परिवर्तन विरोधीका विरुद्ध मोर्चाले लाखौँ जनता सडकमा उतार्ने समेत चेतावनी दिए ।