नेपाली जनता निराश हुनुपर्दैन: माधव नेपाल


हेटौँडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनता निराश हुनुनपर्ने बताएका छन् ।
समाजवादी मोर्चाले आइतबार हेटौँडामा गरेको सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले सरकारको नेतृत्व जनताका एउटा सफल योद्धाले गरेको भन्दै अब देशले एउटा नयाँ युगमा प्रवेश गर्ने बताए ।
प्रचण्ड नेतृत्वको सरकारले अहिले निकै राम्रो काम गरेको उल्लेख गर्दै नेपालले राम्रो कामलाई राम्रो भनेर प्रचण्ड सरकारलाई धन्यवाद दिनुपर्ने बताए । उनले भने,’एउटा मान्छेले राम्रो काम गर्दागर्दै पनि राम्रो भन्न सकिएन भने त्यो मान्छेको मनोवल गिर्न सक्ने सम्भावना हुन्छ तसर्थ राम्रो कामलाई राम्रो भन्नुपर्छ ।’
नेपालको सबै दल मिलेर राजतन्त्र फालेको स्मरण गर्दै नेपालले सबै मिलेको अवस्थामा देश विकास गर्नु आवश्यक रहेको बताए । हामीले व्यवस्था परिवर्तन गरेको तर अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै अब अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई रहेको छ ।
समाजवादी मोर्चा निर्वाचनको लागि मात्र निर्माण नभएको बताउँदै नेपालले यो मोर्चाले हरेक क्षेत्रको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको बताए । उनले सबै प्रदेश स्तरकम समाजवादी मोर्चाले स्पष्ठ भएर काम गर्ने बताए । समाजवादको मिसन बाहेक आफूहरुको कुनै उदेश्य नभएको उनले बताए ।