प्रधानमन्त्रीलाई बाबुरामको सुझाव- विदेशी शक्तिसँग अपारदर्शी सम्झौता नगर्नुस्


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्न सुझाव दिए ।
प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न आज बैठक राखेका थिए । तर, बैठकमा आफू उपस्थित हुन नसकेको भन्दै भट्टराईले तीन बुँदे सुझाव दिएका छन् ।
यस्ता छन् भट्टराईका सुझाव
१. बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसालौं। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति/सम्झौता नगरौं ।
२. एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्ध (वा उष्णयुद्ध?) को सन्दर्भमा नेपालले आफ्नो विशिष्ट भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहिरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ ।
हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनता/सार्वभौमिकता/भौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ । यो डोरीमाथिको हिँडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो । यस निम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचारमन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं ।
३. तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिऊँ ।
विविध कारणले @PM_nepal_ ले बोलाउनु भएको परामर्श बैठकमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी हुॅदै प्रमको आसन्न चीनभ्रमणवारे मेरा सुझाव यसरी व्यक्त गर्न चाहन्छुः
१. बहुदलीय लोकतन्त्रमा दलहरूवीच अरू विषयमा मतभिन्नता भएपनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र…
— Baburam Bhattarai (@brb1954) September 10, 2023