शेखर कोइराला भन्छन्- प्रधानमन्त्री अराजक भइसक्नुभयो, अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ (भिडिओ)


चितवन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा कूटनीतिक सबै क्षेत्रमा संकटको डिलमा पुगेको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा भए पनि प्रधानमन्त्री नै निर्णायक हुने भएकाले अहिलेको संकट यो सरकारबाट पार नलाग्ने बताए ।
कोइरालाले कतिपय ठाउँमा जातीय र धार्मिक दङ्गा मच्चिन थालेको र यसमा प्रधानमन्त्रीले
समेत जातीय राज्यको वकालत गरेर भड्काएको कोइरालाले बताए । उनले अब कांग्रेसको नेतृत्वमा सरकार हुन जरुरी रहेको बताए ।
कोइरालाले भने- देशको प्रधानमन्त्री अराजक भइसक्नुभयो । आदिवासी जनजाति दिवसको दिन उहाँले मलाई तपाईँहरूले विजयी बनाउनुस्,जिताउनुस् म जातीय राज्य दिन्छु भन्नुभयो । उहाँ पार्टीको सभापतिको हैसियतले बोलेको भए मलाई केही अप्ठेरो हुने थिएन, बोलिन्छ । तर देशको प्रधानमन्त्रीले गैर जिम्मेवार कुरा गर्न मिल्दैन ।
कोइरालाले देशमा लोकरिझ्याईको राजनीति फैलिएको भन्दै बालेन शाहको पछिल्लो अभिव्यक्ति र चितवनमा रवि लामिछानेका गतिविधिको पनि आलोचना गरे ।
कोइरालाले भने- लोकरिझ्याइको राजनीति के हो भने काठमाडौंको मेयरले सिंहदरबारमा आगो लगाइदिन्छु भने । यहीँ चितवनमा चुनावको बेला के के भयो ? तपाईँहरू सोच्नुस् चुनावको बेला मेरो घरको छतबाट मेरो ड्राइभर खसेर मरेको भए फेसबुक कसरी रंगिन्थ्यो होला ? तपाईँहरूले पनि केही लेख्नुभयो रु बरु तपाईँहरूमध्ये कतिपयले घण्टीमा भोट हाल्नुभयो,म ग्यारेन्टीका साथ भन्छु । यहि हो लोकरिझ्याई ।
कोइरालाले भरतपुरमा दुईवटा स्थानीय तह निर्वाचनमा माओवादीकी रेणु दाहाललाई सहयोग गर्नु कांग्रेसको ठूलो भूल थियो भन्दै अब वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताए ।
कुरा सहि हो ।