बागचौर नगरपालिकाका प्रशासकीय अधिकृतको अटेरी- कर्मचारीलाई रमाना दिएनन्, आफू पनि सरुवा भएको ठाउँमा गएनन् – Nepal Press

बागचौर नगरपालिकाका प्रशासकीय अधिकृतको अटेरी- कर्मचारीलाई रमाना दिएनन्, आफू पनि सरुवा भएको ठाउँमा गएनन्

सुर्खेत । सल्यानको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले चार महिना बितिसक्दा समेत काज फिर्ता भएका कर्मचारीलाई रमाना दिएका छैनन् । प्रमुख प्रशासकिय अधिकृत गौतमले काज फिर्ता भएका कर्मचारीलाई समेत रमाना नदिई नियमित कामकाजमा लगाएका हुन ।

संघीय खरिदार पदमा समायोजन भएका विशाल वलीलाई २०७९ साउन २५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पदाधिकार रहेको जिल्ला मालपोत कार्यालय दाङ्ग तुलसीपुर शाखाबाट बागचौर नगरपालिका सल्यानमा (अतिरिक्त समूह) कामकाजमा खटाइएको थियो ।

सामान्य प्रशासन मन्त्रालयको २०७९ चैत १३ गतेको निर्णयअनुसार खरिदार वलीलाई पदाधिकार भएको कार्यालयमा काज फिर्ता गरिएको थियो । तर बागचौरका प्रमुख प्रशासकीय अधिकृत गौतमले रमाना नदिई मन्त्रालयको निर्णय अवज्ञा गर्नुका साथै कानून विपरीतको काम गरिरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयको २०८० वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार राज्यको विभिन्न तहमा कामकाजमा खटाइएका कर्मचारीहरुलाई पदाधिकार भएकै कार्यालयमा फिर्ता हुने र यदि कार्यान्वयनको निर्देशन पालना नगरे नगराएमा सम्बन्धित कार्यालयको प्रमुख आर्थिक भारको जिम्मेवारी हुनेगरी परिपत्र गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गौतमले मन्त्रालयको निर्देशनको ठाडो उल्लंघन गर्दै आएको खुलेको छ ।

सामान्य प्रशासन मन्त्रालयको पत्र र २०८० साउन २६ गतेको पुनः निर्णय र सरुवा पत्र अनुसार मन्त्रालयको (अतिरिक्त समूह) कामकाजमा बागचौर नगरपालिका सल्यानमा रहेका खरिदार वलीलाई बागचौर नगरपालिका सल्यानबाट भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा भएको भएतापनि हालसम्म बागचौर नगरपालिका सल्यानमा नियमित हाजिरी गराइरहेको अभिलेखमा देखिन्छ ।

संघमा समायोजन भई बागचौर नगरपालिकामा कामकाजमा आएका कर्मचारी विशाल वलीले काज फिर्ता र सरुवा हुँदा पनि जिन्सी शाखा प्रमुख र सामाजिक शाखा लगायतका शाखाको फोकल पर्सनको जिम्मेवारी सम्हालिरहेको पाइएको छ । खरिदार वली कामकाजमा आउनु पहिला नै सहायक चौथो तहको खरिदार पदमा दुईजना कर्मचारी स्थायी सेवाको दरबन्दीमा बहाल थिए ।

स्थायी सेवाको कर्मचारी दरबन्दीमा बहाल हुँदाहुँदै सेटिङ र मनोमानी ढंगले खरिदार वलीलाई कामकाजमा ल्याई शाखाका महत्वपूर्ण जिम्मेवारी दिइएको, कामकाजको अवधि सकिएर काज फिर्ता र सरुवा हुँदा पनि नियमित हाजिरी गर्न दिनु, माथिल्लो तहको निर्णय कार्यान्वयन नगर्नुलाई प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवारीपन रहेको आरोप लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकाय र कर्मचारीहरुलाई दिएको निर्देशन र परिपत्रअनुसार कर्मचारी काजफिर्ता र सरुवा हुँदासम्म नियम विपरित हाजिर बनाई राख्नु, बागचौर नगरपालिकाले भारी संख्यामा मोटरसाइकल, स्काभेटर, रोलर जस्ता करोडौंका सामान खरिद गर्नु, काजफिर्ता र सरुवा भएका जिन्सी शाखाका कर्मचारीबाट टिप्पणी उठाउनु, नगर अनुदान ६८ जना शिक्षक बर्खास्त गरी पुनः विज्ञापनद्वारा पदपूर्ति गर्ने बहानामा महिनौंसम्म पुर्णता नदिएर गैरजिम्मेवार काम गरिरहेको आरोप लागेको छ ।

दर्जनौं विद्यालयमा पठन पाठन ठप्प भएको, आस्थाको आधारमा कर्मचारीहरुलाई सरुवा गर्नु र स्थायी सेवाका नर्सिङ कर्मचारी हुँदा हुँदै करार सम्झौतामा नियुक्ति गरिएका विचार आस्था निकट कर्मचारीलाई ग्रामीण अल्ट्रासाउन्डको तालिममा सहभागी गराउनु जस्ता कार्यले नगरपालिकाप्रति प्रश्न उठेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २५ गते सरुवा गरेका बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतम पनि रमाना लिएका छैनन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वा अन्तर्गतको कार्यालय गण्डकी प्रदेशबाट बागचौर नगरपालिका सल्यानमा उपसचिव उदय हादर पराजुलीको सरुवा भइसकेको छ । तर गौतमले बागचौर नगरपालिकाबाट रमान समेत बुझ्न मानेका छैनन् ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत गौतमले आफ्नो सुरुवा भएको र धेरै दिन उक्त नगरपालिकाका नबस्ने बताए । सो नगरपालिकामा सुरुवा भएर आउने प्रशासकीय अधिकृत नआएको हुँदा ढिलो भएको गौतमले नेपाल प्रेसलाई भने ।

साथै, खरिदार वलीले श्रीमतीलाई कुकुर टोकेर भाग्ने क्रममा मेरुदण्डमा समस्या आएको हुँदा रमना नलिएको बताए । केही समय श्रीमतीको उपचारका लागि समय चाहिने हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निवेदन दिएको जानकारी दिए ।

उनले निवेदनमा मैले श्रीमतीको नियमित उपचार र हेरचाह गर्नुपर्ने हुँदा केहि समय बस्न पाउँ भनेर निवेदन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *