घोडाघोडीका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा माओवादी निकट युवा-विद्यार्थीले लगाए ताला


कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
पदको दुरुपयोग गरेको, मदिरा पान गर्दै कार्यालयमा उपस्थित भएको, कालोबजारी गर्ने, ठेक्कापट्टामा कमिसन लिने गरेको, कार्यालयमा भन्दा बढी मोजमस्तीमा समय बिताएको, घोडाघोडी नगरपालिकाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरेको भन्दै माओवादीकाे भ्रातृ संस्थाहरु योङ कम्युनिष्ट लिग (वाईसीएल) र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।
अखिल क्रान्तिकारी नगर अध्यक्ष प्रेम सहकारी बोगटी र वाईसीएल नगर संयोजक धिरज भन्डाराले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिएका हुन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा अनिश्चित समयको लागि तालाबन्दी गरेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत आचार्यले मासिक ६० हजारको दरमा निजी सवारीसाधन भाडामा लिएर मोजमस्ती र व्यक्तिगत काममा प्रयोग गर्दै आएकोसमेत आरोप लगाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आचार्य विवादित व्यक्ति हुन् । केही समयअघि उनी बसेको सरकारी क्वाटरमा मदिरा सेवन गरी झगडा हुँदा सरकारी संरचनामा समेत क्षति पुगेको थियो ।
अघिल्लो स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि आचार्य विवादमा आएका थिए । दैलेखको गुराँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले पाएको ७० हजारको ‘वन प्लस नर्ड २’ मोबाइल फिर्ता नगरेको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदन २०७९ मा उल्लेख गरेको छ । मोबाइल फोन आचार्यबाट असुल गर्नुपर्ने महालेखाले भनेको थियो ।
त्यस्तै, एक तहमाथिको पदाधिकारीबाट भ्रमण आदेश स्वीकृत गराउनुपर्ने व्यवस्था भए पनि आचार्य आफैले भ्रमण आदेश स्वीकृत गरेर २०६८ फागुन १९ देखि २७ गतेसम्म भ्रमण गरेका थिए ।