टिकौलीमा एकसाथ ७ सवारी दुर्घटना- कलेज चालकले लाइसेन्सविनै चलाएका थिए गाडी
अक्सफोर्ड कलेजका चालकले गाँजा खाएको यसअघि नै भएको थियो पुष्टि


चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने टिकौली जंगलमा गत साउन ३१ गते ७ वटा सवारीमा ठक्कर दिने गैँडाकोटको अक्सफोर्ड कलेज बसका चालकले बस चलाउने अनुमति पत्र (लाइसेन्स) नै नलिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले एउटा शव बोकेको बोलेरोसहित ६ वटा दुई पाङ्ग्रे सवारीमा ठक्कर दिएको घटनामा मुख्य दोषी भनिएको स्कूल बसका चालकको प्रारम्भिक अनुसन्धानका क्रममा लाइसेन्स नै नभएको पाइएको हो ।
चितवन प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकको ट्रयाक्टर चलाउने लाइसेन्स मात्रै भएको पाइएको हो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले नेपाल प्रेससँग भने, ‘मिनीबस चलाउन मिनिबसकै लाइसेन्स हुनुपर्छ, तर उनको लाइसेन्स ट्रयाक्टर चलाउन मिल्ने मात्रै पाइएको छ ।’
बसका चालक नवलपुरको गैँडाकोट नगरपालिका-९ बस्ने २६ वर्षीय भरत भन्ने आशिष परियार हुन् । प्रहरीले उनलाई चालकलाई सवारी अंगभंगअन्तर्गत मुद्दा दर्ता गरL अनुसन्धान गरेको छ । यसअघि नै स्वास्थ्य जाँचका क्रममा चालक परियारले गाँजा खाएको पुष्टि भइसकेको छ ।
टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको उक्त कलेज बसले शव बोकेको बलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा २० जना घाइते भएका थिए ।