मुसिकोट नगरपालिकाका उपप्रमुखमाथि कर्मचारी कुटपिट गरेको आरोप – Nepal Press

मुसिकोट नगरपालिकाका उपप्रमुखमाथि कर्मचारी कुटपिट गरेको आरोप

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप–प्रमुख विमलकुमार पुनले नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

शनिवार नगरपालिकाकाको कार्यालयकै काम गरिरहेको समयमा शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि कुटपिट भएको उनीमाथि आरोप लागेको हो ।

कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा कुटपिट भएको बताइएको छ ।

मुसिकोट–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको माध्यमिक तह (११ र १२) को कार्यालय सञ्चालन तथा लेखामा पदपूर्ति लागि कामकाज गर्ने क्रममा विवाद भएको पीडित ओलीले बताए ।

उनले भने, ‘हामी परीक्षा सञ्चालनको तयारीमा गर्दै थियौँ । उपप्रमुखले परीक्षा रोक्न भन्दै दबाब दिनुभएको थियो । त्यसै समयमा विवाद हुँदा ममाथि कुटपिट भएको हो । मेरो हातबाट उपप्रमुखले कागजात खोसी लिनुभयो ।’

यता उपप्रमुख पुनले भने आफू पालिका बाहिर हुँदा मनपरी कर्मचारी भर्ना गर्ने चलखेल गरिएको बताए ।

उनले भने, ‘म काठमाडौंबाट हिजो मात्रै आएको हुँ । म आउनु भन्दा पहिला शाखाका कर्मचारी र नगरप्रमुखको निर्देशनमा मलाई कुनै सहमति नगराएर मनपरी रूपमा कर्मचारी बनाउने र चलखेल गर्ने, आफ्ना मान्छेलाई प्राथमिकता दिने, निष्पक्ष र प्रादर्शीतामा ध्यान नदिने, आर्थिकमा चलखेल धेरै गर्ने भन्ने गुनासो धेरै आएको छ ।’

परीक्षाको विषयमा आफूलाई किन कुनै सूचना नदिएको भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको उनले बताए ।

कृषि र विद्यालयको परीक्षा मेयरको निर्देशनमा शाखा प्रमुखले परीक्षा गराउन थालेपछि आफूले रोकेको उनले बताए । उनले भने, ‘आफूले भनेको जस्तो भएन भनेर हातपात गरियो भनेर भनिएको मात्रै हो । अरू केही होइन ।’

आफूलाई कार्यसम्पादनकै क्रममा हातपात भएको हुँदा कानुनी उपचार खोज्ने ओलीले बताए ।

उक्त घटनाको समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रधानाध्यापक गोपीराम केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनारम खड्काको उपस्थिति रहेको थियो ।

आज हुने भनिएको शिक्षक पदपूर्तिको परीक्षा स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *