हर्क साम्पाङलाई अदालतको दोस्रो आदेश- व्यक्तिको जग्गामा प्रवेश र धरपकड नगर्नू
काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न दोस्रोपटक चेतावनी दिएको छ ।
जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि उनलाई त्यस्तो नगर्न आदेश दिएको थियो । मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको हो ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
धरान-४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।
साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै विरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार अदालत पुगेको थियो । साउन ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ भनेको थियो ।
तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो । अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए ।
दम्पतीलाई पक्रन मेयरले प्रहरीलाई दबाब दिएका थिए । त्यसपछि आफू अदालत गएको र फेरि अदालतले पहिलो पटकको जस्तै आदेश दिएको रोजिनाले बताइन् ।