बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध, ग्याल्थुम बजार जोखिममा – Nepal Press

बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध, ग्याल्थुम बजार जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची-हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।

‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ । वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ’, उनले भनिन् ।

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *