भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धाको हीप जोर्नी प्रत्यारोपण
चितवन । भरतपुर अस्पतालमा १०५ वर्षकी महिलाको हिप जोर्नी प्रत्यारोपण सफल भएको छ । गोरखाको गोरखा नगरपालिका- १३ की १०५ वर्षीया गंगामाया गुरुङको हिप जोर्नी प्रत्यारोपण सफल भएको हो ।
अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर मनोज कँडेलको नेतृत्वको टीमले गुरुङको हिप जोर्नी प्रत्यारोपण गरेको हो ।
चार दिनअघि लडेर हिपको जोर्नी भाँच्चिएकी गुरुङलाई उनको परिवारले सोमबार अस्पताल ल्याएका थिए । उनको मंगलबार अर्ध-जोर्नी प्रत्यारोपण गराइएको डा. कँडेलले जानकारी दिए ।
उनका अनुसार हिप जोर्नीको गेडी र खोबिल्टो दुबै प्रत्यारोपण गर्दा पूर्ण प्रत्यारोपण हुन्छ भने गेडीमात्रै प्रत्यारोपण गर्दा अर्ध-जोर्नी प्रत्यारोपण हुन्छ । उनले गुरुङको अर्ध-जोर्नी प्रत्यारोपण गरिएको जानकारी दिए ।
‘सामान्यतया ६०-७० वर्ष कटेपछि हाडजोर्नी शल्यक्रिया गर्न परिवारका मानिसहरुले चाहँदैनन्’, डा. कँडेलले भने, ‘तर, समयमै हाडजोर्नी उपचार गरियो भने ज्येष्ठ मानिसहरु पनि सामान्य अवस्थामा हिँडडुल गर्न सक्छन् ।’
उनका अनुसार गुरुङलाई जोर्नी प्रत्यारोपणपछि आज खुट्टा टेकाउने अभ्यास पनि सफल भएकोले प्रत्यारोपण सफल भएको हो । ‘उमेरको अवस्थाले पनि उहाँको सघन उपचार थियो । तर, हामी सफल भयौं’, उनले भने ।
भरतपुर अस्पतालमा पहिलोपटक १०५ वर्षको महिलाको जोर्नी प्रत्यारोपण भएको हो । हिप प्रत्यारोपणको लागि गेडी किन्न, शल्यक्रियालगायतका सबै उपचार खर्च करिब ३५-४० हजारमात्र हुने डा. कँडेलले जानकारी दिए । भरतपुर अस्पतालमा ७ वर्षदेखि यो सेवा उपलब्ध छ ।