सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न १२ जनाले दिए आवेदन – Nepal Press

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न १२ जनाले दिए आवेदन

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न १२ जनाले आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको कोषको कार्यकारी निर्देशक बन्न विभिन्न क्षेत्रमा अनुभव प्राप्त १२ जनाले आवेदन दिएको कार्यकारी निर्देशक पदपूर्ति समितिले जनाएको हो ।

समितिका अनुसार वैदेशिक रोजगार बोर्डका पूर्वकार्यकारी निर्देशकदेखि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसम्म हुँदै राष्ट्र बैंक बहालवाला निर्देशक, राष्ट्रिय वाणिज्य बैंकका पूर्वनायब प्रमुख कार्यकारी अधिकृतसम्मले आवेदन दिएका छन् ।

जसमा वैदेशिक रोजगार बोर्डका पूर्वकार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक अशोक पौडेल, बहालवाला निर्देशक शहदेव चन्द, राष्ट्रिय वाणिज्य बैंकका पूर्वनायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले समेत आवेदन दिएका छन् ।

समितिका अनुसार नेपाल स्टक एक्सचेञ्चका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, लीलाराज ढकाल, आरम्भ लघुवित्तका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र सर्पोट माइक्रोफाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत कुलमणि तिमिल्सिनाले पनि आवेदन दिएका छन् ।

यस्तै आवेदन दिनेमा प्राइम बैंकमा कार्यरत पदमराज पौडेल, जीवन विकास लघुवित्तका पूर्वसहायक महाप्रबन्धक रोहित भण्डारी, नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का निर्वतमान प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले पनि कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

सामाजिक सुरक्षा कोषले गत साउन १६ गते एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन मागेको थियो । ५५ वर्ष ननाघेको शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहलमा निवेदन दिन सक्ने सूचनामा उल्लेख थियो ।

सूचनाअनुसार अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानून विषयमा कम्तीमा पनि स्नातकोत्तर उपाधि हासिल गरेको र सरकारी वा गैरसरकारी संघसंस्था वा प्रचलित कानूनबमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिमध्येबाट खुला प्रतियोगिताद्वारा छनोट भएका उपलब्ध भएसम्म बढीमा तीन जना छनोट गरी नियुक्तिका लागि समितिमा पेश गर्नेछ ।

छनोट भएका व्यक्तिमध्येबाट समितिले योग्यता, अनुभव, नेतृत्व गर्न सक्ने क्षमता तथा उसले पेश गरेको कोष व्यवस्थापन तथा सञ्चालनको कार्ययोजनाको मूल्यांकन गरी सबैभन्दा उपयुक्त उम्मेदवारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ । कार्यकारी निर्देशकको नियुक्ति नभएसम्म सरकारको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहको कुनै अधिकृतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशकको पदमा काम गर्ने गरी तोक्न वा खटाउन सक्ने व्यवस्था ऐनमा रहेको छ ।

त्यसैअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले अहिले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् । छनोट उपसमितिको संयोजकका रुपमा अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीले काम गर्दै आएका छन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आफ्नो कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाएपछि कार्यकारी निर्देशक पद रिक्त भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *