सुदूरपश्चिमका वनमन्त्री र सशस्त्र प्रहरीका डिआईजीबीच भेटवार्ता, सुरक्षा चुनौतीबारे छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र सशस्त्र प्रहरी बल नेपाल नम्बर सात वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख डिआईजी कुमार न्यौपानेबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय देखिएका सुरक्षा चुनौतीका विषयमा छलफल गर्न मन्त्री धामी प्रदेशस्थित सशस्त्र प्रहरी प्रमुख भेट्न अत्तरिया पुगेका थिए । उनीहरु बिच करिब ३० मिनेट संवाद भएको थियो । चोरी निकासी नियन्त्रण, कालोबजारीको अनुगमन, उद्योग सुरक्षा लगायतका विषय छलफल भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भारतीय सीमासँग जोडिएका जिल्लाबाट पछिल्लो समय लागु औषध बढि भित्रिरहेका छन् । लागु औषध लगायत अवैध सामाग्रीहरू नियन्त्रणमा तदारुकता देखाउन मन्त्री धामीले डिआइजी न्यौपानेलाई बताएका थिए ।
चोरी निकासी र शान्ति सुरक्षाका विषयमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै मन्त्री धामीले कुनै राजनैतिक हस्तक्षेप नहुने बताएका थिए । डिआइजी न्यौपानेले पनि प्रदेश सरकारले सहयोग गरिरहेको र आगामी दिनमा पनि यस्तै साथ रहे चोरी पैठारी पूर्ण रुपमा रोक्ने दाबी गरे ।
भेटमा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामहरि अधिकारी पनि सहभागी थिए ।