दलहरूबीचको सहमति संसदमा जानकारी गराइने
काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दैछ । बैठक बस्नुअघि नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कार्यव्यवस्था परामर्शको बैठकले २ बुँदे निर्णय गरेको छ ।
जसअनुसार राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दिउँसो भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने छन् । विशेष समयका लागि डेढ घण्टा छुट्याइएको छ । जसमा दलीय आधारमा सांसदहरूले सम्बोधन गर्नेछन् ।
करिब एक महिनादेखि अवरुद्ध सदन खुलाउन दलहरूबीच भएको सहमतिप्रति सभामुख देवराज घिमिरेले खुसी प्रकट गरेका छन् ।
‘सदन खोल्न मैले पटक-पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरू, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं । तर, संसदीय व्यवस्थामा दलहरू नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ । संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौं, म पनि गर्छु, माननीयहरूले पनि गर्नुपर्छ भन्ने मलाई लाग्दछ’, घिमिरेले कार्यव्यवस्था बैठकमा भने ।
सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने दुई बुँदे सहमतिसँगै गत साउन १० गतेदेखि अवरुद्ध संसद आजबाट खुलेको हो ।