इटहरीमा सधैँको राजनीतिक स्टण्ट, भत्किएलान् त खोला भित्रै नक्सा पास गरेर बनाएका घर ?
विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका द्वारीकलाल चौधरीको प्रमुख चुनावी एजेन्डा थियो इटहरीलाई डुबान मुक्त गर्ने ।
उनले चुनावी सभाहरूमा भन्ने गर्थे, ‘इटहरीका खोला पैनीमा डोजर चल्छन् खोलाको जग्गा मिचेर बनाएका भौतिक संरचना भत्काइन्छ ।’
उनी चुनाव जितेर उप महानगरको मेयर भए तर उनले भनेजस्तै इटहरीका खोला पैनीमा उनले भने जसरी डोजर चल्न सकेनन् ।
उनी निर्वाचित भएसँगै चुनावी घोषण पत्र अनुसार खोला पैनी मिचेर बनाएका संरचना भत्काउन प्रयास नगरेका पनि होइनन् तर सुरु गरेको काम पूर्ण गर्न पाएनन् ।
चौधरीले खेती खोलाबाट सुरु गरेको संरचना भत्काउने अभियान अगाडि बढ्न सकेन । राजनीतिक दावाका कारणले उनले खोला र पैनीको जग्गा मिचेर बनाएका संरचना भत्काउन सकेनन् । उनले चलाउन थालेको डोजर अन्ततः ब्याक हुन बाध्य भयो ।
चौधरीले खोलाको जग्गा भित्रै नक्सा पास गरेर घर बनाएको पाएपछि ब्याक हुनु परेको बताउने गर्थे ।
इटहरीमा टेङ्ग्रा खोला, खेती खोला, सुकुमारी पैनी जस्ता खोला र पैनी छन् । ती खोला र पैनीको राइट अफ वे मा अहिले व्यक्तिका निजी पक्की घर स्कुल र सामाजिक सङ्घ संस्थाका भवन बनेका छन् ।
अहिले पुन इटहरी उप महानगरले खोला र पैनीको जग्गा खाली गराउने भन्दै खोला र पैनीको जग्गा खाली गर्न सूचना जारी गरेको छ ।
पहिलो पटक असार ३१ गते ३५ दिन भित्रमा जग्गा खाली गराउने बारेको सूचना नगरपालिकाले जारी गरेको थियो ।
त्यो अवधिमा पनि कसैले जग्गा खाली नगरेपछि भदौ ३ गते पुन १५ दिने सूचना जारी गरेको छ । तर राजनीतिक प्रभावका कारण खोलाको जग्गा समेत व्यक्तिको बनाएकाहरूले जग्गा खाली गरेका छैनन् ।
खोलाको जग्गा नै व्यक्तिको नाममा
खोला पैनीको जग्गा मिचेर बनाएका भौतिक संरचना भत्काउने भनेर सार्वजनिक सूचना जारी गरेपछि इटहरी उप महानगरले खोलाको राइट अफ वे छुट्टाउने काम सुरु गरेको छ ।
साउनको ९ गते प्राविधिक टोलीले इटहरीको मुहान वडा नम्बर २ बाट टेँग्राखोलाको नाप जाँच सुरु गरेको थियो । अहिले सम्म नाप जाँच गर्दै प्राविधिक टोली बजार क्षेत्रको टेँग्रापुल सम्म आइपुगेको छ ।
उप महानगरले २ वटा टोली बनाएर नाँपजाँच गर्दै छ । एउटा टोलीले विद्यमान अवस्थामा बग्दै गरेको ‘खोलाको राइट अफ वे’ भित्र के कति जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको छ, त्यो पत्ता लगाउने काम हुँदै छ ।
अर्को टोलीमा रहेका अमिन तथा सर्वेक्षक सहितको प्राविधिक टोलीले नापी विभागबाट ल्याएको नक्साका आधारमा खोलाको वास्तविक ‘खोलाको राइट अफ वे’ पत्ता लगाउने काम गर्दै छ ।
अहिलेको राइट अफ वे पत्ता लगाउने प्राविधिक टोलीका अनुसार खोलाको दायाँ बायाँ ६/६ मिटरको क्षेत्रमा धेरै स्थायी भौतिक संरचना निर्माण भएको पाइएको छ ।
वडा नम्बर २ को पशुपति चौक सम्म त्यति धेरै स्थायी भौतिक संरचना बनाइएको छैन । चौपाया राख्ने गोठ, र अस्थायी प्रकृतिका संरचना बनाइएको भए पनि बजार क्षेत्रमा भने खोलाको राइटअफ वे मै ३ तले पक्की घर सम्म बनेको पाइएको प्राविधिकहरुले बताएका छन् ।
नाप जाँचको नेतृत्व गरेका इन्जिनियर दीपेश आचार्यले व्यक्तिका निजी पक्की घर बनाइएको र २ वटा प्राइभेट विद्यालयको संरचना खोलामा भेटिएको बताए ।
बजार क्षेत्र आएपछि धेरै खोला अतिक्रमण गरिएको छ । उनले भने, कति संरचना बनेका छन् र भन्ने तथ्याङ्क भने जोडिसकेका छैनौ । तर बजार क्षेत्रमा खोला भित्रै बाट संरचना बनाइएको छ ।
अब केही दिनमा फिल्ड वर्क सकेर टेबल वर्क गरी रिपोर्ट उपमहानगरलाई बुझाउने इन्जिनियर आचार्यले बताए ।
अर्को टोलीले भने टेङ्ग्रा खोलाको मुहानबाट बजार क्षेत्रको नाप जाँच गर्दा अधिकांश ठाउँमा खोलाको जग्गा निजी बनाएको पाएको छ ।
सर्वेक्षक भुपेन कुमार चौधरीका अनुसार कतिपय ठाउँमा त खोलाको जग्गा नै भेटिँदैन । कित्ता काट गरी पास पनि भएको छ ।
उनले भने,वडा नम्बर २ र ३का कतिपय ठाउँमा खोलाको नक्सा र निजी जग्गाको नक्सा नै मेल खाँदैन । बजार क्षेत्रमा आएपछि खोलाको जग्गा नै भेटिँदैन ।
सर्वेक्षक चौधरीले भने, ‘वडा नम्बर ४,६ र ९ मा खोला अहिले नम्बरी जग्गामा बगिरहेको बताए । खोलाको साबिक जग्गा कित्ताकाट गरी पास भइसकेको देखिन्छ ।’
खोलाले धार परिवर्तन गरी निजी जग्गामा बगिरहेको देखिएको र कतिपय ठाउँमा खोलाको जग्गा पास गरेर नै व्यक्तिलाई दिएको पनि भेटिएको बताए ।
विभिन्न समयमा बनेका सुकुम्वासी आयोगले खोला उकासको जग्गा भनेर कित्ताकाट नै गरी जग्गा पास गरेको देखिएको सर्वेक्षक चौधरीले बताए ।
खोलाको ‘खोलाको राइट अफ वे’ पत्ता लगाउन प्राविधिक टोलीले नापी विभागले जारी गरेको पुराना नक्सालाई आधार बनाएको छ ।
अर्को तर्फ इटहरी उपमहानगरपालिकाले नक्सा पास गरेका निजी व्यक्तिका जग्गाको नक्सालाई पनि आधार मानेको छ । यस्तै पुराना सरकारी कार्यालयका नापी नक्सा तथा घर नक्सा पास भएका नक्साहरूलाई पनि जाँच गर्ने आधार बनाएको छ ।
३/४ दिन दिन भित्रमा फिल्डको काम सक्ने गरी काम भइरहेको सर्वेक्षक चौधरीले बताए ।