फर्मासिष्टभन्दा फार्मेसी बढी : ज्यानमाथि खेलबाड गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी – Nepal Press

फर्मासिष्टभन्दा फार्मेसी बढी : ज्यानमाथि खेलबाड गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् ।

औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै फर्मासिष्ट बिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताए ।

मन्त्री बस्नेतले भने, ‘यसरी फर्मासिष्ट बिनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौ ।’

केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरै जसो फार्मेसी फर्मासिष्ट बिनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढीरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउँदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशिल चिजको बिक्रीवितरणमा बदमासी गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न पछि नपर्ने बताए ।

औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नु पर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिए । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए ।

विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको बताए । ढकालले गत वर्ष मात्र ३ हजार भन्दा बढी फार्मेसीको निरीक्षण गरेको, २ हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिए ।

औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानून कार्यन्वयन महासाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरी ३२ हजार औषधि पसल रहेको जानकारी दिदै दैनिक ७ देखि १० वटा औषधि पशल दर्ता हुने गरेको बताए । क्षेत्रीले हालै साउनमा मात्र १ सय ९० औषधि पशलको अनुगमन गरेको बताए । ३ दिनसम्म चल्ने क्षमता अभिवृद्घि तालिममा सय भन्दा बढी फर्मासिष्ट, सहायक फर्मासिष्टहरु सहभागी छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर