सुदूरपश्चिममा संसदीय समिति थप्न नियमावली संशोधन मस्यौदा समिति गठन
कैलाली । सुदूरपश्चिम प्रदेशमा विषयगत समितिको संख्या थप हुने भएको छ । प्रदेश सभाको बैठकले आज नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ ।
प्रदेशसभा नियमावली १४८ मा सुदूरपश्चिम प्रदेशमा ४ समिति रहने व्यवस्था छ । प्रदेश सभा नियमावली संशोधन गरेर यहाँ ६ समिति बनाउने तयारी गरिएको हो ।
सभामुख भीम भण्डारीले विक्रम सिंह धामी, मानबहादुर धामी, सुरेन्द्र बहादुर पाल, खुसीराम डगौरा थारु,प्रकाश रावल, खेमा देवी विष्ट र तारा प्रसाद जोशी सदस्य रहने गरि नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको जानकारी गराएका हुन् ।
हाल प्रदेशमा अहिले सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला गरी ४ वटा समिति छन् । शीर्ष नेताहरूबिच बालुवाटारमा भएको सहमतिअनुसार अब २ वटा समिति थप हुने भएको छ ।
प्रदेश सभामा बाढी र पहिरोको चिन्ता
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आज बाढी र पहिलोले जनजीवन प्रभावित भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
आज प्रदेश सभामा २० जना प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए । उनीहरु मध्ये अधिकांशले तराइका जिल्लाहरूमा बाढीले समस्या गरेको भन्दै सरकारले चासो दिनुपर्ने बताएका थिए । पहाडमा पहिरोले जनजीवन प्रभावित हुँदा र ठुलो क्षति हुँदा पनि सरकारले राहतको प्याकेज नल्याएको बताएका थिए ।