सर्वदलीय बैठकअघि ओलीलाई प्रधानमन्त्री प्रचण्डको फोन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । संसदको अवरोध हटाउन आइतबार बोलाएको बैठकमा ओली गएका थिएनन् । आज दोस्रो दिन ५ बजेका लागि तय गरिएको बैठक साँझ सारिएको छ ।
दुई नेताहरूबीच कुराकानी भएर नै बैठक साँझ ७ बजेटलाई सारिएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजी अहिले मौसम खराबीको कारणले सुर्खेतबाट नेपालगञ्ज झर्नुभएको छ । त्यहाँबाट आउन पनि समय लाग्ने भएपछि उहाँहरूको सल्लाहमा बैठक सारिएको हो ।’
प्रधानमन्त्रीले टेलिफोन गरेर ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका थिए । ओलीले आज आफू आउने प्रधानमन्त्रीलाई जानकारी गराए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।
तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर निष्कर्षमा पुर्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पूरा गर्न नसकिने जनाउँदै आएको छ ।
सरकार र प्रतिपक्षी दुवै दल आ-आफ्ना अडानमा कायमै राखेपछि साउन १० गतेदेखि संसद् चल्न सकेको छैन । आजको बैठकले सदनको अवरोध हटाउन सहमति जुट्ने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।