उच्चस्तरीय समिति गठन गर्न गृहमन्त्री अनिच्छुक, प्रधानमन्त्रीले के भने ? – Nepal Press
सर्वदलीय बैठक

उच्चस्तरीय समिति गठन गर्न गृहमन्त्री अनिच्छुक, प्रधानमन्त्रीले के भने ?

भोलिको बैठकमा सहमति निकाल्ने सहमति

काठमाडौं । संसदको जारी गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा कुनै सहमति हुन सकेन । संसद अवरोध गर्ने दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि बैठक औपचारिकतामै सीमित भयो ।

एमालेले ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आइरहेपछि प्रधानमन्त्रीले खुलाउने प्रयास थालेका हुन् । आजको बैठकमा भोलि फेरि बैठक बस्ने सहमति भएको छ । नेताहरु भोलिको बैठकबाट सहमति जुट्नेमा आशावादी छन् । तर, आ-आफ्ना अडानबाट उनीहरु ब्याक भएका छैनन् ।

आजको बैठकमा सत्तापक्षले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्नेमा जोड दिएको थियो । बैठकको सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको बारेमा व्रिफ गरेका थिए ।

‘हामीले कतै कसैलाई छोडेका छैनौं, समिति बनाउँदा सीआईबीको अहिलेको स्पिरिटलाई पनि अप्ठेरो पर्न सक्छ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीमाथि सरकारले कुनै पनि दबाब नदिएको बताए ।

‘हामीले यसलाई समात, त्यसलाई नसमात भन्ने खालको कुनै दबाब दिएका छैनौं । जो जो तानिन्छन्, तानिन्छन् भनेर सीआईबीलाई स्वतन्त्र काम गर्न दिएका छौं । सकेसम्म सीआईबीको अनुसन्धानलाई कमजोर नबनाऔं’, बैठकमा दाहालले भने ।

समिति बनाउने भए नेपालमा भएका अन्य भ्रष्टाचारका घटनालाई पनि समेटेर बनाउन सकिने उनको भनाइ थियो ।

रास्वपा सभापति रवि लामिछानेले सदन जसरी पनि खुलाउनुपर्नेमा जोड दिए । देशमा छलफल गर्नुपर्ने अरु धेरै मुद्दाहरु रहेको भन्दै सदन यसरी बन्धक बन्नु नहुनेले उनले बताए ।

‘जसरी पनि भोलि सहमति जुटाएर पर्सिबाट सदनको नियमित बैठक सुचारु हुनुपर्छ’, लामिछानेले भनेका थिए ।

बैठकमा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी उपस्थित थिए । उनीहरुले पार्टीमा थप छलफल गरेर भोलिको बैठकलाई निर्णायक बनाउन प्रयास गर्ने बताए ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले बैठक सकारात्मक रहेको भन्दै भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘हाम्रो लाइन समिति बन्नसक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । त्यसैले संसद खुलाउनुर्छ भन्ने हाम्रो माग हो । त्यसबारेमा भोलिको बैठकमा कुनै न कुनै सहमति हुनसक्छ ।’

यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद खोल्ने विषयमा सकारात्मक छलफल भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली नआएकाले भोलिका लागि बैठक राखिएको बताए ।

नेता पाण्डेले भने, ‘संसदको अवरोध हटाउनुपर्छ भनेर सबै दल सहमत हुनुहुन्छ । त्यहीअनुसार बैठक अघि बढेको छ । ओली पनि आएपछि भोलिको बैठकबाट केही निष्कर्ष निस्कनसक्छ ।’

त्यसो त आजको बैठकमा एमालेले अडान कायमै राखे पनि सदन खुलाउन लचक भएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले सीआईबीको अनुसन्धान प्रभावित हुने भन्दै तत्काल समिति गठन नगरौं भनेको बताए ।

उनले भने, ‘उहाँ अघिल्ला दिनभन्दा केही लचिलो हुनुभएको छ । सम्भवतः सरकार पनि उच्चस्तरीय समितिका लागि तयार भएको हाम्रो अनुमान छ । हामीले सीआईबीको अनुसन्धान प्रभावित नहुनेगरी नीतिगत सुधारका लागि समिति चाहिन्छ भनेका छौं ।’

प्रधानमन्त्रीले १५ दिन समय कुर्न भने पनि सरकार समिति बनाउने पक्षमा गइरहेको उनको बुझाइ छ ।

उनले भने, ‘समिति नबनेसम्म हामी सदन खोल्ने पक्षमा छैनौं । संसदको बिजनेसतिर जाँदैन । तर, सांसदहरूलाई आफ्नो धारणा राख्न दिनुपर्छ भनेर आइरहेको छ । त्यसमा हामी सकारात्मक छौं ।’

यता एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाए ।

सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षबाट आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको उनको जिकिर छ ।

सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएकोले त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्‍याए ।

यस्तै, बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि सीआईबीको अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताए ।

लिङदेनले भने, ‘छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ । संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ ।’

तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने दाबी गर्छन् ।

उनले बैठकपछि पत्रकारसँग भने, ‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के-कस्तो प्रबन्ध गर्ने हो, सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछ ।’

संसदको अवरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीले गरेको अहिलेसम्मको प्रयास सफल नहुँदा आज बोलाइएको प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मको लागि स्थगित गरिएको छ ।

तर, एमाले सरकारको गतिविधिप्रति अझै सन्तुष्ट हुन सकेको छैन । सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको एमालेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर