शास्त्रीसँगको भेटबारे गृहमन्त्रीको प्रष्टीकरण- अध्यात्ममा रुचि छ, आनन्द अरुणको आग्रहमा भेटेको हुँ (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतबाट आएका गुरु बागेश्वरसँगको भेटबारे सार्वजनिकरुपमा प्रष्टीकरण दिएका छन् । उनले स्वामी आनन्द अरुणको प्रस्तावमा आफू भेट्न गएको बताए ।
आज सर्वदलीय बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा श्रेष्ठले सो प्रष्टीकरण दिएका हुन् । उनले धर्म र ईश्वरमा आफ्नो विश्वास नरहे पनि आध्यात्ममा रुचि रहेको बताए ।
श्रेष्ठको भनाइ यस्तो थियोः
‘म पूर्वीय दर्शन, चिन्तन र संस्कृतिको अध्ययनमा रुचि राख्ने व्यक्ति हुँ । व्यक्तिगतरूपमा म यो जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वर छ र उसको विधिविधान धर्म हो भन्ने मान्दिनँ । तर, अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरू छन् । मेरो योग र ध्यानमा विशेष रुचि छ । स्वामी आनन्द अरुण मेरो मित्र पनि हुनुहुन्छ । उहाँले भारतबाट आध्यात्मिक गुरु आउनुभएको छ । भेट्दा राम्रै हुन्छ भन्नुभयो । मैले त बागेश्वर धामको नामै सुनेको थिईनँ । उहाँको विषयमा केही थाहा पनि थिएन । आनन्द अरुणले भनेपछि मैले भेटेको हो ।’
बागेश्वरले काठमाडौं आउनासाथ नेपाल भारतको अभिन्न अंग हो भनि दिएको अभिव्यक्तिबारे पनि गृहमन्त्रीलाई सोधिएको थियो ।
त्यसमा उनले जवाफ दिए, ‘मैले हेर्न पाएको छैन । तर, नेपाल एउटा सार्वभौम राष्ट्र हो यसमा कुनै सन्देह छैन । मैले सुनेअनुसार सुरुमा उहाँले झुक्किएर एउटा वाक्य बोल्नुभयो र त्यसपछि सच्याउनुभयो भन्ने छ ।’
के भनेका थिए शास्त्रीले ?
शास्त्रीले नेपाल हिन्दूहरुको तपोभूमि र भगवानको रामको ससुराली भन्ने क्रममा भारतको एक अभिन्न अंग भन्दा भन्दै वाक्य नटुंग्याई भारतको मित्र देश भनेका थिए । त्यसैलाई कतिपयले विरोधको वहाना बनाएका थिए ।
शास्त्रीले हिन्दीमा भनेका थिए–ये वो भक्तिकी भुमि है,मा जानकीकी नगरी हे ।नेपाल हमारे भारतका एक अभिन्न अंग,हमारे भारतका मित्र देश,हमारे भारतका साथ साथ कन्धे से कन्धा पूरी दुनियाँमे सनातनका झण्डा फैरानेवाला राष्ट्र है ।