जसपामा नयाँ विधान लागू- ७० वर्षे उमेरहद हट्यो, एउटै पदमा तेहेराएर उम्मेदवार हुन नपाउने
निवर्तमान अध्यक्ष वरिष्ठ नेता मानेर अध्यक्षपछिको वरियतामा रहने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नयाँ विधान लागू गरेको छ । साउन २५ गते निर्वाचन आयोगमा अभिलेख गरिएको जसपाको विधानमा उमेर हदको प्रावधान नराखेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
तर, असार दोस्रो साता बसेको विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा उमेरहदको प्रस्ताव गरेका थिए ।
जसपाको प्रस्तावित विधानको धारा ८६ मा भनिएको थियो, ‘७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन ।’
तर, विधान सम्मेलनमा आएको नेताहरुको सुझावको आधारमा उमेरहद नराख्ने सहमति भएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
उनले भने, ‘उमेरहदको प्रस्ताव अध्यक्षबाट भएको थियो । तर, छलफलपछि राजनीतिक नेतृत्वमा उमेरहदले कुनै प्रभाव नगर्ने भएकाले नराखेका हौं । यो अन्तर्राष्ट्रिय प्रचलन हेर्दा पनि उपयुक्त छैन ।’
उनले आयोगमा नयाँ विधान अभिलेख भइसकेपछि कार्यान्वयनमा जाने अध्यक्षले पार्टी कमिटीहरुलाई सर्कुलर गरिसकेको बताए । पार्टीमा उपेन्द्र यादवले उमेरहदको प्रस्ताव राख्दा संघीय परिषद् अध्यक्ष अशोक राईले असन्तुष्टि जनाएपछि हटाएको बुझिएको छ । निरन्तर पार्टीको नेतृत्व गरिरहेका यादव अहिले ६४ वर्षका भए भने राई ६६ वर्ष पुगिसकेका छन् ।
उमेरहद हटाए पनि एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने व्यवस्था कायमै राखेको छ ।
विधानको धारा ८६ को उपधारा (२) मा भनिएको छ, ‘पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश/राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन ।’
त्यसो त यसअघि ७० वर्षे उमेरहदको अभ्यास गर्दै आएको नेकपा एमालेले पनि अव्यवहारिक भएको भन्दै हटाएको थियो ।
यस्तै, जसपाले राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ समेत गरी १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने विधानमा व्यवस्था गरेको छ ।
संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप-महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्यसमेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने व्यवस्था नयाँ विधानमा गरिएको छ । त्यसमा केन्द्रीय निकायका अध्यक्षहरू पदेन सदस्य हुनेछन् ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राम्हण समूह, थारू, दलित, मुस्लिम, अपांगता भएका र अल्पसंख्यक समुदायका जातीय/सामाजिक समूहरूबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित हुने तर, यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ ।
सामान्यतः पार्टी समितिका निवर्तमान अध्यक्ष वरिष्ठ नेता मानेर केन्द्रीय समितिको अध्यक्षपछिको वरियतामा रहने व्यवस्था नयाँ विधानमा गरिएको छ । अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने विधानमा उल्लेख छ ।
पार्टी झण्डा र लोगो फेरबदल
यस्तै जसपाले पार्टी झण्डा र लोगोसमेत परिवर्तन गरेको छ । रातो रङ्गको पृष्ठभूमिमा बीचमा सेतो रङ्गको पाँचकुने तारा रहने नयाँ झण्डा बनाइएको छ । झण्डामा रहेको रातो रङ्गले क्रान्ति र समाजवाद तथा पाँचकुने ताराले चेतना र विविधतामा एकताको प्रतीक जनाउने विधानमा उल्लेख छ । यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो तारा रहेको झण्डा प्रयोग गरिइको थियो ।
लोगोमा पनि रातो रङ्गको गोलाकारभित्र रातो रङ्गको पाँचकुने ताराको बीचमा सेतो रङ्गको हातको मुट्ठी रहेको बनाइएको छ ।