कोशी : उपसभामुखले एक दिन धकेलिन् मुख्यमन्त्रीको विश्वासको मतको कार्यसूची
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ३ गते विश्वासको मत लिने सूचना दर्ता गराएपनि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले ४ गतेको कार्यसूचीमा राख्न तोक लगाएकी छन् ।
उनले ४ गते १ बजेको बैठकमा विश्वासको मत लिने गरी कार्यसूचीमा राख्न निर्देशन दिएकी हुन् ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ । नियम १२ (३) मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ । कोशी प्रदेशसभामा सभमुख नभएको अवस्थामा सचिवले उपसभामुख समक्ष सूचना पेश गरेका थिए ।
मुख्यमन्त्री थापाले केहि बेरअघि ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले भदौ १३ गते सम्ममा विश्वासको मत लिनुपर्ने छ ।