संस्कृत विश्वविद्यालयमा नेविसंघले लगाएको ताला दुई महिनापछि खुल्यो – Nepal Press

संस्कृत विश्वविद्यालयमा नेविसंघले लगाएको ताला दुई महिनापछि खुल्यो

रुपन्देही । नेविसंघले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न निकायमा दुई महिनाअघि लगाइएको ताला खुलेको छ ।

सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा लगाएको ताला दुई महिनापछि बुधवार खुलेका हुन् ।

नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।

केन्द्रीय कार्यालयमा लागेको ताला झन्डै दुई महिनापछि शुक्रवार खुलेको थियो । केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।

ताला खुलेपछि विश्वविद्यालयका सबै काम सुचारु भएका छन् । विश्वविद्यालयले तालाबन्दीबारे निकास निकाल्न सहप्रशासक सुरजकुमार लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

समितिका सदस्यमा सुधीरकुमार पोख्रेल, विष्णु दाहाल, कमल पोख्रेल तथा सदस्यसचिव विनयकुमार पोख्रेल थिए ।

यसअघि समितिले वार्ताका लागि नेविसंघलाई पत्राचार गरे पनि उनीहरूले पदाधिकारीसँग मात्र वार्ता गर्ने भन्दै छलफलमा आउन अस्वीकार गरेका थिए ।

समिति र विद्यार्थी संगठनबीच बुधवार भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसँग सम्बन्धित मागहरू पूरा गर्ने सहमति भएपछि ताला खुलेको वार्ता समिति सदस्य उपप्राध्यापक सुधीरकुमार पोख्रेलले बताए ।

वार्तामा सेवा आयोगका सबै परीक्षा लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको विषयमा छानबिन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय भएको जनाइएको छ ।

यसै गरी आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति २०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको पोख्रेलले बताए ।

सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि हुने उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको परीक्षाका साथै असार २७ देखि हुने सहप्राध्यापकका परीक्षा स्थगित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर