डेंगी नियन्त्रणमा ध्यान दिन मानव अधिकार आयोगले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं । मानव अधिकार आयोगले डेंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डेंगीको संक्रमण बढ्दै जाँदा महामारीको रूप लिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएको हो ।
‘नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवं जीवनको अधिकार सुनिश्चित गर्न, डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने कार्यमा तीनै तहका सरकार बिच प्रभावकारी समन्वय र सहकार्य गर्न तथा डेंगी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्दछ,’ आयोगका सहसचिव एवम प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
आयोगले डेंगीको संक्रमण बढ्दै जाँदा पछिल्ला एक महिनामा मात्रै सङ्क्रमितको संख्या १२ हजार नाघिसकेको र आठ जनाको ज्यानसमेत गइसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो । ‘पछिल्लो एक महिनामा बिरामीको संख्या तीव्ररुपमा बढिरहेको अवस्थामा रोगको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरू संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको, तीन तहका सरकार बिच प्रभावकारी समन्वयमार्फत डेंगी फैलाउने लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेको जस्ता विषयहरू सञ्चार माध्यममा आउनुका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारीहरू प्राप्त भएका छन्,’ आयोगको विज्ञप्तीमा उल्लेख छ ।
आयोगले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा १६ ले प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्नेतर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।