सामाजिक सुरक्षा कोष रित्तो हात आँसु चुहाउँदै घर फर्किनुपर्ने नियतिको ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/08/prachand-3-e1692172295820.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज तथा समाजवाद उन्मुख राजनीतिक तथा आर्थिक प्रणाली स्थापनाका लागि श्रमिकहरूको सामाजिक सुरक्षासहितको अधिकारको प्रत्याभूति अनिवार्य शर्त भएको बताएका छन्।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषको संयन्त्र समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणको लागि महत्त्वपूर्ण संयन्त्र भएको बताए ।
उनले भने, ‘श्रमिकको पेशा र श्रमको सम्मान स्थापित गर्ने यो सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्कोतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधारहरू लुकेको हुन्छन्। अनौपचारिक क्षेत्र खास गरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले ‘ब्रेक थ्रु गर्ने मैले विश्वास लिएको छु।’
सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्नु जरुरी भएको बताए।
सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको उनको भनाइ छ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका छन् । तर सामाजिक सुरक्षालाई एकीकृत अवधारणा र ढाँचा अन्तर्गत समाहित गर्दै सघन अभियान सञ्चालन गर्न नसके यसको दिगोपना नहुने र यसबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सकिँदैन ।’
सामाजिक सुरक्षाको दायरा बिस्तार र कोषको संस्थागत तथा संरचनागत सुधारमा सरकारले उच्च प्राथमिकताका साथ कार्य गरेकोले सामाजिक सुरक्षा कोष र यसबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्यता र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताए।
‘नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु’ उनले भने।