इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना छ: शृङ्खला खतिवडा


काठमाडौं । पूर्व मिस नेपाल तथा आर्किटेक शृङ्खला खतिवडाले भविष्यमा इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेका बताएकी छिन् ।
सोमबार काठमाडाैं कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजना भएको एक दिने अभिमुखीकरण कार्यक्रममा खतिवडाले इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेको बताएकी हुन् ।
उनले हार्वर्ड विश्वविद्यालयबाट अर्वान प्लानिङमा स्नातकोत्तरको आफ्नो अनुभवका साथै विश्वभर इन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा समेत बताइन् ।
अहिले कक्षा १२ अध्ययन पछि उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दै गएकोमा नेपाल भित्रै भएका अध्ययनको अवसरलाई विद्यार्थीमाझ अझ सशक्त ढङ्गले पुर्याउन कार्यक्रम आयोजना गरेको पोखरा विश्वविद्यालयले जनाएको छ ।
त्यसै गरी, कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेम नारायण अर्याल, रजिष्ट्रार प्राडा दीपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालयको समग्र विषयमा जानकारी दिए ।
विज्ञान तथा प्रविधि संकायका डीन प्राडा राजेश ठकुराठीले विश्वविद्यालय तथा यसको सम्बन्धनमा सञ्चालनमा रहेका विभिन्न कलेजमा चलिरहेका स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूको बारेमा विस्तारमा बताए ।
उनले विश्वविद्यालयको भर्ना प्रक्रिया, विद्यमान छात्रवृत्तिको अवस्था, परिष्कृत पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कन पद्धतिको बारेमा पनि विद्यार्थीहरूलाई अवगत गराए ।
कार्यक्रमका प्रमुख वक्ता ई। ज्ञानेन्द्र लाल प्रधानले सिभिल इन्जिनियरिङ क्षेत्रमा र ई. विरोध रिजालले आईटी क्षेत्रमा नेपालको इन्जिनियरिङ शिक्षा, उत्पादित इन्जिनियरिङ जनशक्ति र अवसरका विषयमा आ–आफ्नो प्रस्तुति दिए ।