सेवाग्राहीसँग नियम विपरीत पैसा लिँदै बर्दघाट-९ वडा कार्यालय


रूपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम विपरीत सेवाग्राहीसँग रकम लिएको खुलेको छ ।
पूर्व निर्मित घर तथा भवनको अभिलेखीकरण गर्नका लागि निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रतिनिवेदन दस्तुरबापत ३१० रुपैयाँ लिएको हो ।
बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखीकरणको निवेदन वडाबाट संकलन गर्ने क्रममा वडा नम्बर ९ ले निवेदन दस्तुर र अन्य शुल्कबापत शुल्क लिएको हो । वडाअध्यक्ष चन्द्रकान्त चापागाईंले सेवाग्राहीबाट पैसा लिएको बताउँदै वडासचिवले गल्ती गरेको भन्दै शाखागत कर्मचारीको जिम्मा लिएको बताए । उनले भने, “त्यो जिम्मा मेरो हैन कर्मचारी वा सम्बन्धित शाखाले जान्ने कुरा हो ।’
बर्दघाट नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले अभिलेखीकरणको निवेदन लिँदा शुल्क लिने निर्णय नभएको बताए । “ राजस्व शाखासँग परामर्श लिनु पर्थ्यो“सापकोटाले भने ।
बर्दघाट ९ कि वडासचिव हिमा कुमारी बनले निवेदन लिँदा राजस्व लिएको बताइन् । ‘निवेदनको शुल्क लिँदा गल्ती भएको बताउँदै पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउँछौं’, वडासचिव बनको भनाइ छ ।
१० रुपैयाँ निवेदन दस्तुर र ३ सय रुपैयाँ अन्य दस्तुर गरी ३ सय १० रुपैयाँका दरले ९५ जना सेवाग्राहीसँग रकम लिइएको छ ।
यस विषयमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले कानुन विपरीत सेवाग्राहीसँग पैसा उठाउनु गलत भएको बताए । ‘नगरले निर्णय नै नगरेको कुरामा अरु वडाले उठाएका छैनन् हामीले यो बिषयमा बुझिरहेका छौ’, नगर प्रमुख श्रेष्ठले भने ।
वडा अध्यक्ष चापागाईं भने सम्पूर्ण दोष कर्मचारीमा थुपारेर आफू भने उम्किन खोजेको देखिन्छ ।
पूर्व निर्मित घर तथा भवनको अभिलेखीकरण गर्नका लागि नगरले साउन ७ गतेदेखि भदौ ९ गतेसम्म वडा कार्यालयहरुबाट निवेदन संकलन गरिने नगरपालिकाले जनाएको छ ।