पोखराका ट्याक्सी अनिवार्य मिटरमा नचले कारबाही हुने – Nepal Press

पोखराका ट्याक्सी अनिवार्य मिटरमा नचले कारबाही हुने

पोखरा । पोखरा उपत्यकाभित्र सञ्चालन हुने सबै ट्याक्सीहरु अनिवार्य मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।

अनिवार्य रुपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिए ।

मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारबाही हुने रिज्यालले बताए । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा चल्न ट्याक्सी चालकहरुलाई आग्रह गरेको छ ।

भाडाकार ट्याक्सीको भाडा सम्बन्धमा गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुवाती २०० मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मी बराबर १० रुपैयाँ कायम गरिएको छ ।

अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्य तवरले रातो प्लेट (निजी) सवारी साधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमा पनि कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले केही दिनअघि आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेपनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।

ट्याक्सीले मनपरी भाडा लिने गरेको भन्दै जनगुनासो उठ्दै आइरहेको थियो । यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताएका थिए ।

‘विगतमा सरकार र व्यवसायीबीच भएको सहमति पालना गरेर जान हामी तयार छौँ, ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्यो । महंगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर