कागबेनीका बाढीपीडितलाई तत्काल राहत पठाउने गण्डकी सरकारको निर्णय – Nepal Press

कागबेनीका बाढीपीडितलाई तत्काल राहत पठाउने गण्डकी सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले मुस्ताङका बाढी प्रभावितलाई तत्काल राहत सहयोग पठाउने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले मुस्ताङ बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेको हो ।

मुस्ताङ कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएपछि दैनिकी असहज बनेको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार बिहान प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए ।

बाढी प्रभावितलाई उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले कार्य सुरू गरेको मुख्यमन्त्री पाण्डेले बताए । उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनकालागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ ।

मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर