नदी कटान अवलोकन गर्दै सांसद चौधरीले भने- नियन्त्रणको पहल गरिरहेको छु


कैलाली । कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्की चुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
हरेक वर्ष आउने बाढीले यहाँका सयौँ हेक्टर खेती योग्य जग्गा कटान गरिहरेको हुन्छ । उस पटक पनि बाढी आउन थालेपछि सांसद चौधरीले निरीक्षण थालेका हुन् । सांसद चौधरी सँगै रानी जमरा कुलरिया सिँचाइ आयोजनाका इन्जिनियर विक्रम राई र रोशन भक्त सुवाल पनि निरीक्षणमा थिए ।
उनीहरुले लम्की चुहा नगरपालिका १ रोरा पुलको बस्ती, उदयपुरमा रोरा खोलाको कटान, लम्की चुहा ४ र ६ जोडने चोरी खोलामा निर्माण गर्नु पर्ने पुल र छेउको कटान अवलोकन गरेका थिए ।
टोलीले लम्की चुहा ६ लोहरपुरमा चोरी नदिले कटान गरेको क्षेत्र चुहा र तोरिपुर भएर बग्ने पथरिया नदी कटान र पुल निर्माण गर्नु पर्ने ठाउँ, वडा नम्बर १० मा बनखेत कटान क्षेत्र ,हर्दानी नदी कटान हर्दानी र खैरेनी जोड्ने जीर्ण कल्वटको अवलोकन गर्दै जानकी गाउँपालिका २ परागीपुर जोडने पुलको अनुगमन गरेको थियो ।
अवलोकन पछि सांसद चौधरीले कटान क्षेत्रमामा रानी जमरा कुलरिया परियोजना बाट बजेट हालेर आउने आर्थिक वर्ष भित्र नदी कटान नियन्त्रण गर्न पहल गर्ने बताए ।
उनले थप बजेटका लागि संघीय सरकारसँग पहल गर्ने समेत जनाए । उनले आफ्नो पाँच वर्षको कार्यकालमा आवश्यक ठाउँमा पुल र तटबन्ध गरेर कटान नियन्त्रण गर्ने समेत दाबी गरे । उनले केहि योजना बजेटमा समेटिएको र केही समेट्न आफ्नो पहल हुने दाबी गरेका थिए ।