बर्दियाका दुई सयभन्दा बढी घर डुबानमा, ३ जना वेपत्ता – Nepal Press

बर्दियाका दुई सयभन्दा बढी घर डुबानमा, ३ जना वेपत्ता

रुपन्देही । बर्दियामा आएको बाढीले दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीबाट गुलरिया नगरपालिकाका ३ जना वेपत्ता भएका छन् ।

बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले गुलरियाको वडा नं १२, ८ र २ का तीन जना बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको नेपाल प्रेसलाई बताए ।

बाढीले बगाएर गुलरिया नगरपालिका-१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको उनले बताए ।

गुलरिया, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा धेरै घरहरु डुबानमा परेका छन् । अर्यालका अनुसार यी पालिकामा नदी पसेका कारण धेरै स्थानीय प्रभावित भएको तर यथार्थ तथ्यांक आउन बाँकी रहेको बताए ।

ठाकुरबाबा नगरपालिकाको वडा नंं २, ६ र ७ र गुलरिया नगरपालिका वडा नं ५ का गरी १२४ घर डुबेका छन् । शनिबार रातिदेखिको अविरल वर्षाका कारण गुलरिया नगरपालिकामा बबई नदी र ठाकुरबाबा नगरपालिकाको औराही तलबेलुवा गिठेलगायतका खोलाको बाढीले घरहरू डुबानमा परेका हुन् । ठाकुरबाबा नगरपालिका वडा नं २ मा ४५, वडा नं ६ मा १७ र ७ नं वडामा ५० घरधुरी डुबानमा परेका छन् ।

त्यसैगरी गुलरिया नगरपालिका वडा नं ५ मा १२ घरधुरीमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए ।

बाढीले डुबानमा परेपछि ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल र उपप्रमुख वीना भट्टराई बिहानैदेखि उद्धार कार्यमा जुटेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका होटल तथा पर्यटन व्यवसायीहरूसमेत राफ्टिङ बोटसहित उद्धार कार्यमा संलग्न छन् ।

यसैगरी बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । सो क्षेत्रमा बढी पानी परेको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले २४ घण्टामा रम्मापुरमा २२६.४ मिलिलिटर पानी परेको जानकारी दिए ।

बर्दियामा यो वर्षको सबैभन्दा बढी वर्षा भएको स्थानीयले जनाएका छन् । चेपाङस्थित जलमापन केन्द्रमा १७२ मिलिलिटर पानी परेको छ ।
बबई र कर्णालीमा जलस्तर बढ्दै गए पनि खतराको चिह्ममा पुगेको छैन ।

बबईको कटानले बबई सिंचाइ आयोजनाले ठाकुरद्वारास्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ । स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको बबई सिंचाइ आयोजनाका प्रमुख शुशील देवकोटाले बताए । स्लोभ बगाए निर्माण भएको पश्चिम नहर जोखिममा पर्ने उनले जनाए ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले सोमबारसम्म वर्षा हुने भएकोले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए ।

यसैगरी प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीको टोलीले विभिन्न बाढीग्रस्त स्थलको अवलोकन गरेको छ । जल तथा पूर्वानुमान शाखाले पानी निरन्तर पर्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बर्दियामा हाल पानीको सतह भने घट्दै गएको छ । वर्षा निरन्तर भइरहेको हुनाले बबई नदीलगायत विभिन्न तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर