मातहतका निकायसँग सञ्चारमन्त्री शर्माको प्रश्न- आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ?


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय मातहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न निर्देशन दिएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै उनले भनिन्, ‘मेरो कार्य सम्पादन भनेकै तपाईंहरुका क्षेत्र र निकायबाट हुने हो, त्यसैले मन्त्रालय मातहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्न आग्रह गर्दछु ।’
उनले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताइन् ।
गत आर्थिक वर्षमा मन्त्रालयको पूँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले आफैंले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् भनेर प्रश्न गरिन् ।
‘हामी जिम्मेवारीमा बसेका मान्छेको पञ्छिने बानी छ, यो राम्रो होइन । हरेक निकाय र जिम्मेवार अधिकारीले आत्मसमीक्षा गरेर प्रगतिको मूल्यांकन गर्नुपर्छ । अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन’, मन्त्री शर्माले भनिन्, ‘हामी सबैले कसको कति कमजोरी हो, खोजी गरौं । तर, चालू आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छुट हामी कसैलाई छैन ।’
पहिले आमसञ्चार क्षेत्रका काम बढी हुने बेलामा सञ्चार मन्त्रालय सरकारको प्रचार मन्त्रालयको रुपमा मात्र रहने गरेको भए पनि अहिले सञ्चारभन्दा बढी सूचना प्रविधिको काम थपिएकाले अब काम गर्ने र प्रचार गर्ने दुबै दायित्व यो मन्त्रालयसँग रहेको उनले स्पष्ट पारिन् ।
‘अब आम सञ्चार क्षेत्रले प्रभावकारी प्रचार र सूचना प्रविधिको क्षेत्रले देशको समृद्धिका लागि डिपार्चर गर्नुपर्छ । सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पर्छ भने नयाँ संरचना भए पनि बनाएर जाऔं’, मन्त्री शर्माले भनिन्, ‘तर, अब नेपालको डिपार्चर गर्ने क्षेत्र नै यही हो, यसमा ढिलासुस्ती गर्नुहुँदैन ।’
मन्त्री शर्माले कर्मचारीलाई राजनीतिक नेतृत्वसँग खुलेरै छलफल गर्न र पाएको जिम्मेवारी कार्यान्वयन गर्न पनि आग्रह गरिन् । राजनीतिक र प्रशासनिक नेतृत्वबीच तालमेल मिलेन भने विकास निर्माण र सेवा प्रवाहले गति नलिने स्पष्ट गर्दै उनले यसमा सबैले ध्यान दिनुपर्ने बताइन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुंगानाले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिंदै सूचना प्रविधिलाई एप्लिकेशनभन्दा इकोसिष्टमको रुपमा विकास गर्ने गरी कार्यक्रम बनाउन मन्त्रालयलाई आग्रह गरिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पूँजीगत खर्च बढाउन संस्थागत क्षमता विकासमा जोड दिए ।
बैठकमा मन्त्रालयअन्तर्गत सबै क्षेत्र र निकायका प्रमुखले जानकारी गराएका थिए । हाल मन्त्रालयअन्तर्गत आमसञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी ६ वटा क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् ।