पृथ्वीचोकबाट मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै पोखराका मेयरको पुत्ला दहन


पोखरा । पृथ्वीचोकबाट मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।
राप्रपा निकट युवा संगठन कास्कीले मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै शनिवार मेयर आचार्यको पुत्ला दहन गरेका हुन् ।
पृथ्वीचोक (लखनचोक) मा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको शाहको प्रतिमा हटाएपछी राप्रपाले विरोध जनाएको हो ।
महानगरले शुक्रवार बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार गए राती पृथ्वी चोकबाट शाहको प्रतिमा हटाएको जनाएको थियो ।
राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका थिए । तर, उनीहरू फर्किएपछि महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको थियो ।
मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु गलत रहेको राप्रपा गण्डकीका अध्यक्ष तथा प्रदेश सभा सदस्य पञ्चराम गुरुङले बताए ।
‘मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हराएपछि हामीले बुझ्दै जाँदा महानगरले हटाएको थाहा पायौँ, त्यो कार्य एकदमै गलत छ, त्यसको विरोधमा हामीले विरोध स्वरूप मेयर आचार्यको पुत्ला दहन गरेका हौँ,’ उनले भने ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मध्यरातमा महानगरले शाहको प्रतिमा हटाउनु दुखद र निन्दनीय भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुखद् र निन्दनीय छ ।’
पृथ्वीचोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधवार हटाइएको थियो । तर, पुनः राप्रपाले पृथ्वीको प्रतिमा पुनः स्थापना गरेको थियो । त्यससँगै विवाद सिर्जना भएको थियो ।
सर्वपक्षीय निर्णयअनुसारनै शाहको प्रतिमा निकालेर महानगरमा सुरक्षिर राखिएको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
‘महानगरले सर्वपक्षीय निर्णयअनुसार शाहको प्रतिमा हटाएको हो, त्यो महानगरमा अहिले सुरक्षित छ,’ उनले भने, ‘खै किन उहाँहरुले त्यस्तो गर्नुभो ।’