अझै खुलेन कालीगण्डकी करिडोर – Nepal Press

अझै खुलेन कालीगण्डकी करिडोर

ढोरपाटन । भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ ।

आयोजनाको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रवार दिउँसो करिब २० घण्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ ।

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् ।

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

‘पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्’, उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।’

पहिराले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर