मसिनो गरी छानबिन गरे अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको छ: लामिछाने


रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सरकारले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको बताएका छन् ।
सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नुपर्ने बताउँदै उनले ललिता निवास, सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सुक्ष्म रुपमा छानबिन हुने हो भने औंलामा गन्नसक्ने नेता मात्र बाँकी रहने बताए ।
पार्टीको पश्चिम नवलपरासीमा शनिबार आयोजित कार्यक्रममा उनले भने,‘सरकारले सबै काण्डको छानबिन गर्यो भने औंलामा गन्नसक्ने नेता बाहेक सबै जेलमा हुन्छन्, त्यो रोक्नका लागि बहानाबाजी गरिनेछ हामी निरन्तर खबरदारी गरिरहने छौं ।’
रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले शनिबार बर्दघाटमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताए ।
‘केही मान्छेहरू हाम्राविरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नुपर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।
देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा इमान्दारिताको अभाव भएको उनले बताए । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउँदे रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने जनाए ।
आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोपको खण्डन गर्दै सभापति लामिछानेले बिगतदेखि नै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गरे ।
प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिलेदेखि असहमति रहेको नै स्पष्ट धारणा रहेको बताए । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उनले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गरे ।
‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछानेले भने । कार्यक्रममा रास्वपाका उपसभापति डिपी अर्याललगायत सहभागी रहेका थिए ।