दुई दिनभित्रै सुनिल शर्मा थुनामुक्त, गृहमन्त्रीलाई आतंककारी संज्ञा दिँदै फेरि राजीनामा मागे (भिडिओ) – Nepal Press

दुई दिनभित्रै सुनिल शर्मा थुनामुक्त, गृहमन्त्रीलाई आतंककारी संज्ञा दिँदै फेरि राजीनामा मागे (भिडिओ)

‘मैले लगाएको गुनको पैँचो प्रचण्डले हतकडी लगाएर तिर्नुभएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो पक्राउ गरेका शर्मा आज जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।

थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागेका छन् । यद्यपि, आफ्नो गिरफ्तारी प्रधानमन्त्रीकै निर्देशनमा भएको उनको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै शर्माले भने, ‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको शर्माले बताए ।

‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैछ । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ,’ उनले भने ।

शर्माले कांग्रेस माओवादीसँगको गठबन्धनबाट बाहिर निस्किनुपर्ने बताए ।

‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

पत्रकारसँग कुरा गर्ने क्रममा शर्माले शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावाद भने । देउवाको नाम भने लिएनन् । उनले आफूलाई साथ दिएकोमा दुर्गा प्रसाईँलाई विशेष धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर