बागमतीको १० जिल्लामा सवारी दुर्घटनाबाट एक वर्षमा २९९ ले गुमाए ज्यान


हेटौंडा । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेक बागमती प्रदेशको १० जिल्लामा सवारी दुर्घटनाको कारण एक वर्षमा २ सय ९९ जनाको ज्यान गएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १० वटा जिल्लामा एक हजार ३ सय ६१ वटा दुर्घटना हुँदा २९९ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । दुर्घटनामा परी २ हजार ८ सय ९१ जना घाइते भएको प्रहरीको भनाई रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुर्घटना र मृतकको सख्या कम भएपनि यसलाई अझै न्यूनीकरणका उपायहरु अपनाएर घटाउनुपर्नेमा ट्राफिक प्रहरीहरुले जोड दिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा १ हजार ७ सय ९८ वटा दुर्घटना हुँदा ४१३ जनाको मृत्यु भएको थियो । ३ हजार ९ सय ९५ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङकमा उल्लेख छ ।
सवारी चाप बढनु, सडक सुरक्षा नहुनु लगायतको कारणले नेपालमा प्रत्येक वर्ष हजारौ नागरिकले ज्यान गुमाउन वाध्य बन्नुपरेको प्रहरीको बुझाई रहेको छ । नेपालको सडकहरु खतरापुर्ण रहेको र यसलाई सहज बनाउनको लागि सम्वन्धित निकायहरु सजग तथा सचेत हुनुपर्ने जनाइएको छ ।