संसद निरन्तर अवरोधबारे राष्ट्रपति पौडेलको चासो, प्रधानमन्त्रीसँग छलफल – Nepal Press

संसद निरन्तर अवरोधबारे राष्ट्रपति पौडेलको चासो, प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा भइरहेको अवरोधको विषयमा चासो राखेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै गरेको अवरोधको विषयमा चासो राखेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई हालै भएको विदेश भ्रमणको बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो नियमित भेटघाट हो । उहाँले विदेश भ्रमणको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो । त्यसबाहेक समसामयिक पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।’

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।

यस्तै प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शिक्षा ऐनलगायतको विषयमा पनि चासो राखेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर