कैलाली कांग्रेसमा लफडा : सभापतिले दुई नेता निष्कासन गरेपछि काउन्टरमा उपसभापति (भिडिओ)


कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि अहिले यहाँका कांग्रेसीजनमा विवाद सृजना भएको छ । सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन् ।
सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका- १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका-६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।
दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका थिए ।
उक्त आरोपमा दुवैजनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सभापतिले जारी गरेको पत्रमा उल्लेख छ । त्यसको तीन दिनपछि आज उपसभापति भीम बडूवालले छुट्टै विज्ञप्ति जारी गरेका छन् । उनले सभापतिले विधिविपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन् ।
सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन् , ‘यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु । अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन । पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।’
दशरथ चन्द मेडिकल विश्व विद्यालय स्थापनका लागि आन्दोलन गरिरहेका उनीहरूलाई सम्मान गर्नुपर्नेमा पार्टी सभापतिले कारबाही गरेर पार्टीलाई अपमान गरेको उपसभापतिको बिज्ञप्तिमा उल्लेख छ ।
विधिविपरीत कारबाही गरेको भन्दै विवादमा तानिएका पार्टी सभापतिविरुद्ध उपसभापतिले अर्को विज्ञप्ति जारी गरेपछि कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ । पार्टी उपसभापति बडूवाल विधिविपरीत गरिएको कारबाही फिर्ता नभए स्वयम सभापतिलाई नै अनुशासनको कारबाही गर्ने गरि केन्द्रमा उजुरी गर्ने तयारी भइरहेको बताउँछन् ।
बडूवालले नेपाल प्रेससँग भने, ‘उहाँ (सभापति ) आफैमा कानुन होइन, उहाँले पनि कानून मान्नुपर्छ । कुनै कानून र विधानमा नभएको अधिकारी प्रयोग गरेर उहाँले कारबाही गर्नुभएको छ । त्यो फिर्ता गर्नुपर्छ ।नभए हामी केन्द्रमा उहाँ माथि नै अनुशासनको कारबाही हुने गरी प्रक्रियामा जान्छौं ।’
यता सभापति भट्टले भने उपसभापति बडूवालले पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरेर विज्ञप्ति जारी गरेको आरोप लगाए । उनले उपसभापतिबाट पनि अनुशासनहीन काम भएको टिप्पणी गरे ।
सभापति भट्टले नेपाल प्रेससँग भने ‘उपसभापतिले जारी गरेको विज्ञप्ति हेर्नुभयो चलानी नम्बर १ छ । के कांग्रेसको चलानी १ मात्रै हो त ? के कांग्रेसले अहिले सम्म केहि काम गरेको छैन ? उहाँले पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरेर अर्को अनुशासन उल्लङ्घन गर्नु भएको छ ।’
कांग्रेसका २ नेताहरूमाथि भएको कारबाहीले पार्टी सभापति र उपसभापतिमात्रै फरक कित्तामा उभिएका छैनन् । अन्य नेता कार्यकर्ताहरूले पनि यसलाई फरक फरक ढङ्गबाट व्याख्या र टिप्पणी गरिरहेका छन् । सभापति भट्टले गलत ढंगले कारबाही गरेको भन्दै अत्तरियामा उनी विरुद्ध नाराबाजी समेत भएको थियो ।