सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी, सभामुखले थाले छलफल


कैलाली । सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । यस अघि रहेका चार वटा समितिलाई अव ६ समिति बनाउने तयारी भइरहेको छ ।
सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा समितिको संख्या बढ्ने भएको छ । समितिको संख्या बढाउनु अघि कार्यदल बनाइने तयारी भएको छ ।
समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाउने विषयमा छलफल भइरहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जानकारी दिए । उनले केहि दिन यस विषयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग पनि छलफल गरेका छन् ।
मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूसँग पनि छलफल गरेका सभामुख भण्डारीले कार्यदल बनाएर सबै विषय टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।
‘दुई समिति थप गर्ने कुरा छ। समितिको नाम के राख्ने र ती समितिको क्षेत्राधिकार कति रहने भन्ने विषयमा कार्यदल बनाउने कुरा भएको हो ’ सभामुख भण्डारीले भने ‘यस विषयमा सरकारसँग पनि छलफल भइरहेको छ।’
सुदूरपश्चिममा अहिले सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति रहेका छन् । अब दुई समिति तप गर्दा कुन समिति तोड्ने वा नयाँ बनाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
सभामुख भण्डारीले यी सबै विषयमा छलफल गर्ने गरी कार्यदल बनाउने विषयमा छलफल भएको बताए ।
अहिले सम्म पनि यहाँका चार समितिले सभापति पाउन सकेका छैनन् । सभापति चयन भन्दा अघि नै समिति थप गर्ने सत्ता गठबन्धनको तयारी छ ।
६ समिति बनाउँदा सत्ता गठबन्धन भित्र नागरिक उन्मुक्तिले २ समिति पाउने सहमति भएको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीले १र१ समितिको सभापति पाउने छन् ।
सार्वजनिक लेखा समिति विपक्षी दललाई दिने तयारी छ । यहाँ एमाले र राप्रपा विपक्षी छन् । सत्ता गठबन्धनले बजेट पारित गर्दा सहयोग गरेको हुँदा राप्रपालाई सार्वजनिक लेखा समिति दिने भद्र सहमति गरिसकेको छ ।
‘पहिले समिति बढाउने विषयमा टुङ्गो लाग्छ । अहिले भागबन्डाको कुरा छैन’ सभामुख भण्डारीले भने ।