यी हुन् गौर नरसंहारमा दोषी किटान भएका १३० जना, त्यो बेलाका फोरम अहिले सबै पार्टीमा (सूचीसहित)
२७ जना माओवादी कार्यकर्ताको विभत्स हत्यामा आरोपितहरु कोही माओवादीकै नेता र जनप्रतिनिधि निर्वाचित, पत्रकार महासंघका अध्यक्ष पनि दोषीको सूचीमा


काठमाडौं । एकाएक चर्चामा आएको १७ वर्षअघिको गौर नरसंहारका दोषीमाथि के सरकारले मुद्दा चलाउला ? गृह मन्त्रालय र गौर नरसंहारमा मारिएका २७ जना माओवादी कार्यकर्ताका परिवारबीच मंगलबार भएको सहमतिसँगै मधेशको राजनीतिमा हलचल पैदा भएको छ ।
मधेश सरकारको नेतृत्व गरिरहेको र केन्द्र सरकारमा सहभागी तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले उक्त सहमतिप्रति आपत्तिमात्र जनाएको छैन, सरकार नै छाडेर संघर्षमा उत्रिन उपेन्द्र यादवमाथि पार्टीभित्रबाटै दबाब बढेको छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको पाँच बुँदे सहमतिको पहिलो नम्बरमै उक्त घटनाको विषयमा सो समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।
सोही सहमतिप्रति जसपाले विरोध जनाएको छ । १७ वर्षअघि भएको सो घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमले २२ पुरुष र ७ महिलासमेत २७ जना वाईसीएल नेता कार्यकर्ताको विभत्स हत्या गरेको थियो । (सो प्रकरणको विस्तृत जानकारीका लागि यो समाचार क्लिक गर्नुहोस् ।)
संयोग नै मान्नुपर्छ गौर हत्याकाण्डको बेला फोरमको नेतृत्व गरेका उपेन्द्र यादव र माओवादीको मधेशी मुक्ति मोर्चाको नेतृत्व गरेका प्रभु साह पक्ष अहिले गौरमा एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् । २७ जना कार्यकर्ता गुमाएको माओवादी पार्टी भने यता न उताको अवस्थामा छ ।
गौर हत्याकाण्डलगत्तै पीडित परिवारको तर्फबाट उपेन्द्र यादवसहित ६६ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले थप ६४ जनालाई दोषी किटान गरेपछि गौर हत्याकाण्डका अभियुक्तको संख्या १३० पुगेको थियो ।
किटानी जाहेरी परेका र जाँचबुझ आयोगले दोषी भनी नाम उल्लेख गरेका १३० जनामाथि अहिलेसम्म अनुसन्धान भने भएन । बबन सिंहले भूमिगत रुपमै चुनाव जितेका थिए, त्यो पनि स्वतन्त्र उम्मेदवार बनेर । के अब १३० जनामाथि अनुसन्धान होला त ? पाँच बुँदे सहमतिपछि यो प्रश्न उठेको छ ।
याे पनि पढ्नुस् : वाईसीएलका २७ नेता मारिएको ‘गौर नरसंहार’- उपेन्द्र यादव र प्रभु साह प्रस्ट, माओवादीको ‘स्ट्याण्ड’ के ?
रोचक के छ भने त्यसबेला किटानी जाहेरी परेका र जाँचबुझ आयोगले दोषी भनी नाम उल्लेख गरेका व्यक्तिहरु तत्कालीन फोरम अर्थात हालको जसपामा सबैजना छैनन् । तीमध्ये कतिपय हाइप्रोफाइल व्यक्ति छन्, जो अहिलेकै सत्तारुढ र तत्कालीन पीडित पक्ष माओवादीको केन्द्रीय सदस्य र गाउँपालिका अध्यक्षसम्म भइसकेका छन् ।
केही व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् भने केही नेकपा एसमा छन् । अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय सदस्य बाबुलाल साहबाहेक अहिले अभियुक्तमध्येका धेरै नेता जसपामा छैनन् । एकजना पूर्वमेयर गौरीशंकर यादवको भने निधन भइसकेको छ ।
किटानी जाहेरीको पहिलो नम्बरमा नाम रहेका अजय गुप्ता तत्कालीन राजपाबाट २०७४ मा गौरको मेयर निर्वाचित भएका थिए । २०७९ मा आइपुग्दा उनी नेकपा एमालेमा प्रवेश गरेर मेयरमा पुनः निर्वाचन लडे । तर, नेकपा एसका शम्भु साहसँग पराजित भए ।
उनी फेरि प्रतिनिधिसभामा माधव नेपालको प्रतिद्वन्द्वी भएका थिए । गुप्तामात्र होइन किटानी जाहेरीमा नाम रहेका बबन सिंह पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनकी पत्नी अंशु सिंह राजदेवी नगरपालिकाको मेयरको प्रत्याशी थिइन् । बबन अहिले नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य छन् ।
अजय गुप्तालाई पराजित गरेर गौरको मेयर बनेका शम्भु साह कानू पनि गौर नरसंहारका दोषी हुन् । उनलाई त झनै न्यायिक जाँझबुझ आयोगले दोषी भनी १११ नम्बरमा सूचीकृत गरेको थियो । साह फोरम, जसपा र राजपा हुँदै अहिले नेकपा एसमा छन् ।
त्यस्तै जाहेरीको ३२ नम्बरमा नाम उल्लेख रहेका प्रेमचन्द्र झा अहिले नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष छन् । उनी नेकपा एस निकट समाजवादी प्रेस संगठनमा पनि आबद्ध छन् ।
२७ जना माओवादी कार्यकर्ताको हत्यामा किटानी जाहेरी परेका शम्भु सिंह अहिले माओवादी पार्टीकै नेता छन् । उनी रौतहटको दुर्गाभगवानी गाउँपालिका अध्यक्षमा माओवादीबाटै निर्वाचित भएका हुन् ।
त्यस्तै जाँचबुझ आयोगले दोषी भनी नाम उल्लेख गरेका महोत्तरीका रामकुमार शर्मा हाल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य छन् । उनी २०६४ सालमा तमलोपाबाट सभासद भएका थिए भने सांसद कार्यकाल नसकिँदै माओवादीमा प्रवेश गरेका थिए । उनकी श्रीमती इन्दु शर्मा माओवादीबाट सांसद छिन् ।
हेर्नुस् गौर नरसंहारमा किटानी जाहेरी परेका र जाँचबुझ आयोगले दोषी भनेका १३० जनाको नामावली
उपेन्द्र चीनतिर लागे भनेर भारतको निर्देशनमा केही दलाल भु.पुं. माओवादीको उस्काहटमा प्रचण्डले आफ्नो खाल्डो आफैं खने । अस्थिरताको पराकाष्ठा हो प्रचण्ड भनेको । देश बर्वाद पार्ने भनेको माओवादी हो ।
His days are numbered ….👍️
गौर नरसंहारमा दोषी किटान भएका १३० जना लगभग दोषी जस्तै देखिन्छन्